यशाेदा चौलागाई
काठमाडाैं । वर्तमान अवस्थालाई हेर्ने हो भने देशमा बेरोजगारी बल्झिदो समस्या हो । रोजगारीका लागि देशका युवाहरु विदेशी मुलुकमा होमिनु चिन्ताजनक विषय हो ।
जीविकाेपर्जनका लागि आवश्यक पर्ने पेशा वा व्यवसाय नभएको अवस्थालाई बेरोजगारी भनिन्छ । इच्छा, जाँगर र योग्यता हुँदाहुँदै पनि काम नभएको अवस्था बेरोजगारी हो ।
श्रम बजारमा मागको तुलनामा श्रमशक्तिको आपुर्ति धेरै हुने हुदाँ बेरोजगारीको अवस्था सिर्जना हुन पुग्छ । बेरोजगारीका कारण मुलुकमा युवाशक्ति निष्क्रिय हुन पुग्ने हुँदा एकातिर मुलुकले आर्थीक रुपमा प्रगति गर्न सक्दैन भने अर्कोतिर पारिवारिक कलह,अशान्ति, झैझगडा बढ्न जान्छ।
नेपालमा बेरोजगारी एक प्रमुख समस्या हो । शिक्षित र काम गर्न सक्ने मान्छेहरुले पनि रोजगारी नपाउने अवस्था सिर्जना हुन थालेको छ । बेरोजगारी कै कारण मानिस भित्र रहेको प्रतिभा पनि पलायन हुँदै जाने गरेको छ । जीवन जिउनका लागी रोजगारी एकदमै धेरै आवश्यक छ ।
रोजगारीकै कारण समाजमा भएका गरिबहरु पनि र्निमूल हुँदै जानेछन् । बेरोजगारी मुलुकको आर्थीक, समाजिक र राजनीतिक समस्याको कारण बनेको छ । नेपालमा अहिले रोजगारीका अवसरहरु श्रिजना हुन सकेका छैनन् ।
प्रतिवर्ष करिव ५ लाख मानिस श्रम बजारमा थपिने गर्छन तर थपिएका मध्ये पनि अधिकांश व्यक्तिले रोजगार पाउँदैनन्। सरकारी तथ्याङक अनुसार ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन्, जसको ५ प्रतिशत जति महिला छन्।
तथ्याङक अनुसार नेपालमा बेरोजगारीको दर ११ प्रतिशत छ । कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या ८६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि महिनामा ४० हजार नेपाली विदेश जाने गरेकोमा कोरोना महामारीका कारण नेपालमा बेरोजगारी थप बढेको देखिन्छ ।
नेपालमा गरिबी र असमानता हटाउन देशमा रोजगारी सिर्जना गर्न आवश्यक छ अनि मात्र देश समृद्धितर्फ अघि बढ्छ। बेरोजगारी समस्यालाई कम गर्दै लैजान सरकारले स्पस्ट नीति ल्याउन जरुरी देखिन्छ ।
कृषि, व्यापार, पर्यटनदेखि लिएर हरेक क्षेत्रमा देशमा भएका युवाहरुलाई रोजगारीका लागि प्रोत्साहन गर्दै अगाडि बढाउन अत्यावश्यक देखिन्छ । युवाहरुका लागि सरकारले रोजगारीका लागि विभिन्न अवसरहरु जुटाइदिए मुलुकले कोल्टे फेर्ने थियो की ?