पत्रकारिता क्षेत्रका हस्ती ज्योति वैद्य त्यति प्रचारमा आउन नचाहने, अनि पदमा पनि आँखा नगाड्ने व्यक्ति । आफ्नो समाजसेवा गर्ने रूचि भने नेपालबाटै बोकेर क्यानाडा पुग्दा पनि त्यसमा कमी ल्याउन चाहनु भएन । उहाँको यो सामाजिक कामको मूल्याङ्क गर्दै केही साथीहरूले क्यानाडाको प्रतिष्ठित पिलर कम्यूनिटी लिडरसीप अवार्डका निम्ति मनोनयन गरिदिएपछि भने उहाँ प्रचार प्रसारबाट अछुतो रहन सक्नुभएन । उहाँले सर्वाधिक मत पाएर पिलर कम्यूनिटी च्वाइस अवार्ड पनि पाउनुभयो । प्रस्तुत छ, सोही सन्दर्भमा वरिष्ठपत्रकार टंक पन्तले जनतासमाचारका लागि गर्नुभएको कुराकानीको सार संक्षेप ।
तपाईले पाउनुभएको अवार्डबारे केही बताइदिनुेस न अनि अवार्ड पाएर कस्तो महसूस गर्नुभयो ?
मैले कहिल्यै पनि कुनै मानसम्मान पाउँछु भनेर सामाजिक काम गरेको थिइन । केही साथीहरूले मेरो काममा बिश्वास गरेर यो अवार्डका लागि मनोनयन गरिदिनुभयो र सबैभन्दा बढी मत पाएको आधारमा पिलर कम्यूनिटी च्वाइस अवार्ड पाएँ पनि । पिलर ननप्रोफिट नेटवर्क भन्ने संस्था क्यानाडामा अन्टारियो प्रान्तको दक्षिण पश्चिम क्षेत्रका छ सयवटा संस्थाहरू रहेको संजाल हो र यो अवार्ड विगत १५ वर्षदेखि समाजमा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा संस्थाहरूलाई वितरण गर्दै आएको छ । यो अवार्ड पाएर म पक्कै पनि खुशी छु र मलाई बिश्वास गरेर मनोनयन गर्नुहुने तथा मत दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।
तपाईले गर्नुभएका सामाजिक कामहरू ?
अवश्य पनि, म केही महत्वपूर्ण कामहरू उल्लेख गर्न चाहन्छु । सर्वप्रथम म के कुरा प्रष्ट गर्न चाहन्छु भने जति काम भएका छन् ती टीमको भरमा भएका हुन् र यो अवार्डको श्रेय पनि टीमलाई नै जान्छ । नेपालमा हुँदा म पनि पत्रकार थिएँ र म मातृभूमि साप्ताहिकमा संलग्न थिएँ । पत्रकार हुँदा पनि विभिन्न सामाजिक सवालहरूमा कलम चलाएँ । प्रजातन्त्र पुनर्स्थापना गर्ने मिसनमा मातृभूमिले त्यसबेला गरेको योगदानबारे मैले यहाँ बताइरहनु पर्दैन होला । महंगी, कालोबजार, चेलीबेटी बेचबिखन, सामाजिक कुरीतिविरुद्ध हामीले कलम चलायौं ।
राष्ट्रियता र राष्ट्रिय स्वाभिमानबारे पनि हामीले जहिले पनि अडान लियौैं र विदेशी हस्तक्षेपका विरुद्ध थुप्रै कलमका नीब भाँच्यौं । यसका अलावा म त्यसबेला ल्याय्म्ह पुचः (युवा समूह) मा आवद्ध रहेर पनि प्राकृतिक प्रकोप पीडितहरूलाई राहत पुर्याउने, मकवानपुरको पालुङ्गमा बाढीबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण गर्ने, भृकुटी मण्डपमा बाल उद्यान निर्माण गर्ने जस्ता थुपै्र कामहरू भए । ल्याय्म्ह पुचःलाई देशका विभिन्न भागमा विस्तार गर्ने काम पनि भयो । म नेपाल पत्रकार संघको केन्द्रीय सदस्य भएको बेला संघलाई महासंघ बनाउन विधान बनउने कामका साथै विभिन्न संघसंस्थाका मुखपत्रहरू पनि सम्पादन गरें । यी सबै कामहरू मैले स्वयंसेवी भएर गरेको थिएँ ।
क्यानडा पुगेपछि नि ?
क्यानाडा आइसकेपछि भने कोभिड महामारीका बारे जनचेतना बढाउन र कोभिडविरुद्धको खोपका लागि विशेष गरेर नेपाली र अन्य नेपालभाषीहरूलाई लक्षित गरेर हामीले धेरै काम गर्यौं । नेपाली भाषामा कुनै पनि जानकारीमूलक सामग्री नभएकाले हामीले विभिन्न निकायहरूमा सम्पर्क गरेर नेपाली भाषामा पनि प्रचारप्रसारका सामग्री तयार गर्न सक्यौं । यसका साथै हामीले नेपालीमा विभिन्न युट्यूब भिडियो पनि बनायौंं । हामीले आफ्नै मातृभाषामा बुझुन् भनेर अमेरिकामा कार्यरत सरुवा रोग विशेषज्ञ डा. प्रज्ञा धौभडेललाई निम्त्याएर जूम कार्यक्रम पनि संचालन गर्यौं । त्यस्तै, म बसेको क्यानाडाको लण्डन भन्ने शहरमा विभिन्न खोप क्लिनिकबाट करिब नौ सय नेपाली भाषीलाई पूर्ण खोप लगाउन सफल भयाैं । हेल्पिङ्ग ह्याण्डस् विदाउट बोडर्स क्यानाडाको तर्फबाट संचालन गरिएको यो प्रोजेक्टको रमाइलो पक्ष के हो भने यसमा संलग्न हुने सबैले स्वयंसेवा प्रदान गरेका थिए ।
सन् २०१५ मा नेपालमा गएको महाभूकम्पबाट निकै जनधनको क्षति भएपछि नेपालमा गएर सक्दो सहयोग गर्ने र गोरखाको हर्मी भंज्याङ्गमा एउटा विद्यालय भवन पुनर्निमाण पनि मेरो नेतृत्वमा भए । अहिले भने क्यानाडाको एनआरएन प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भनेर नयाँ विधान बनाउन साथीहरूले जिम्मा दिनुभएको छ र त्यसका लागि पनि काम भइरहेको छ ।
काम गर्दा कस्ता तगारा आए ?
हेर्नुस्, काम गर्दा तगारा त आई नै हाल्छन् । ती अप्ठ्याराहरूलाई पन्छ्याउँदै आफ्नो लक्ष्यमा पुग्न सक्नुपर्छ । तगाराहरू सरकारीस्तरमा पनि आएका होलान्, कतिपयले व्यक्तिगत इष्र्याले वाधा अड्चन खडा गर्ने पनि भए होलान् । तर आफ्नो स्पष्ट लक्ष्य, विवेक र धैर्यताले गर्न खोजेको काम पूरा हुन्छ । मेरो अनुभव यही रह्यो ।
तपाई एनआरएनमा पनि हुनुहुँदो रहेछ तपाईंको भूमिका के थियो र हाल एनआरएनको विवादबारे के भन्नुहुन्छ ?
म केही समय क्यानाडाको एनआरएन.को केन्द्रीय सदस्य र पछि सल्लाहकार र सन् २०१५ मा प्रमुख निर्वाचन आयुक्त भएर काम गरेको छु । हालको विवादबारे प्रश्न सोधिहाल्नुभयो । यसबारे बोल्दा कुनै न कुनै राजनीतिक रंग लाग्ने अथवा लगाउनेहरू धेरै हुन्छन् । नेपालमा हुँदा पनि प्रजातन्त्रका लागि आवाज उठाइयो, कुनै पार्टीविशेषको सदस्य भइन । अब जहाँसम्म एनआरएनको विवाद छ, त्यसमा राजनीतिक प्रभाव त छँदैछ, नेतृत्वमा बस्नेहरूको अप्रजातान्त्रिक हर्कत तथा असहिष्णुता पनि कम छैनन् । संस्थाको विधानलाई आफूलाई जसरी फाइदा हुन्छ, त्यसरी व्याख्या गर्ने, विधानलाई नियमावलीले उल्ट्याउने, नियमावलीलाई निर्देशिकाले फेर्ने र निर्देशिकालाई नेतृत्वमा बस्नेले मनपरी गर्ने प्रवृत्ति खतरनाक ढंगले बढेको छ । यसो भएपछि असन्तोष बढ्ने नै भयो ।
हामी आफैले फुटबल मैदान बनाइदिएपछि सरकार मात्र के, जो कोहीले पनि मौका छोपिहाल्छन् । यो प्रवृत्ति हामीले क्यानाडामा पनि गएका केही वर्षदेखि देखेका भोगेकाले नै पनि होला, यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर साथीहरूले जिम्मेवारी दिनुभएको छ । नेतृत्वमा बस्नेहरूले विधानलाई पालना गर्ने, प्रजातान्त्रिक मूल्य मान्यताहरूलाई आत्मसात गर्ने र संस्थाको स्वार्थलाई अगाडि राखेर काम गर्ने हो भने आज हामीले देखिरहेको तमासा हुँदैन थियो होला । नेपाल सरकारले हस्तक्षेप गर्नुहुदैनथ्यो । आखिरी सरकारले गरेको निर्णयलाई अदालतले मानेको छैन ।
अन्तमा एउटा प्रश्न, नेपालमा पत्रकारितामार्फत प्रजातन्त्रको लागि पुर्याउनुभएको योगदान एकदम महत्वपूर्ण त भइहाल्यो, अरू कुनै एकदमै संझन लायक एउटा उदाहरण के छ ?
बडो अप्ठ्यारो प्रश्न भयो यो त । तर अहिले ठ्याक्कै दिमागमा आएको नेपालमा सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ्ग ल्हामु शेर्पालाई एउटा फ्रेन्च टोलीका नेताले सगरमाथाको चुचुरोमा पुग्न केही सय फीट मात्र बाँकी छँदा उनीलाई रोकेको समाचार पहिलो पटक प्रकाशन गर्नेदेखि उनी सगरमाथाको चुचुरो पुगेको र पछिको दुःखद् घटनासम्म पनि मातृभूमिले अत्यन्त महत्वका साथ समाचारहरू कभर गरेको थियो । म आफै त्यसबेला सगरमाथाको आधार शिविरसम्म पुगेर पासाङ्ग ल्हामुको समाचार आरोहणबारे समाचार कभर गर्ने मौका मिलेको थियो । यसरी राष्ट्रिय विभूति जन्माउने काम पत्रकारिताबाट नै संभव भएको हो ।