धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको शहर भएको बताउनुभएको छ । आज धरान शहर १२१औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको आफ्नै पहिचान भएको बताउनुभएकाे हाे ।
आफ्नै विशिष्टताका कारण धरानले आफ्नो १२१ औँ उत्सव मनाउन पाएको भन्दै उहाँले धरानको समग्र विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको समस्याबारे सरकारले अध्ययन गरिरहेको र चाँडै निकास निकाल्ने बताउनुभयो । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रतिष्ठान सुधारमा सरकार लागि परेको बताउनुभयो । उहाँले धरानलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाइने बताउनुभयो ।
नेपाली कांग्रेसको सभापतिसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका नेता तथा कार्यकर्ता एक भएर अगाडि बढेमा मात्र पार्टीमा एकता कायम हुने उहाँको भनाइ थियो ।
त्यसैगरी, प्रधानमन्त्री देउवाले सुनसरीको धरान–६ मा भेन्टर वेभ टु इनर्जी कम्पनीको करिब २६ करोडको लागतमा निर्माण हुन लागेको फोहोर व्यवस्थापन केन्द्रको उदघाटन गर्नुभयो ।
सो कम्पनीले निर्माण गर्न लागेको फोहोर व्यवस्थापन केन्द्रबाट धरान उपमहानगरपालिकामा हुने फोहोरलाई प्रशोधन गरेर ग्यास उत्पादन गर्ने र उत्पादित ग्यास उपभोक्तालाई बिक्री वितरण गर्ने तयारी रहेको छ । बीस वर्षपछि उक्त प्रशोधन केन्द्र उपमहानगरपालिकालाई कम्पनीले हस्तान्त्रण गर्नेछ ।
प्रधानमन्त्री देउवाले धरान–२ मा रहेको नेपाली काङग्रेस नगर पार्टी कार्यालयको समेत उदघाटन गर्नुभएको थियो ।