प्रेम यादव
रौतहट । केही दिन यतादेखि शुरु भएको शीतलहरका कारण रौतहटका विद्यालयहरु बन्द हुन थालेका छन्। गत बिहीवार एक्कासी भएको वर्षाका कारण अत्याधिक जाडो बढेसँगै रौतहटका ११ वटा नगरपालिकाले आफ्नो नगर क्षेत्रको सामुदायिक तथा निजी विद्यालयहरुमा बिदा दिएका छन् ।
कुहिरो र शितसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्रै हुन थालेको छ ।
शुक्रबारदेखि अत्याधिक शीतलहर बढेको भन्दै कटहरिया, बैधिमाई, राजपुर, इशनाथ, वृन्दावन, देवाही गोनाही, माधव नारायण, फतुवा विजयपुर, परोहा, गरुडा र गडीमाई नगरपालिकाले आफ्नो नगर क्षेत्रको विद्यालयहरु एकसाताका लागि बिदा दिएको छ ।
सामुदायिक विद्यालयहरुको कमजोर भौतिक संरचना र फर्निचर अभावका कारण रौतहटका अधिकांश विद्यालय जाडोबाट प्रभावित बन्न पुगेका छन् ।
सधैँजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यपारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् । साँझ पनि चिसो झनै बढ्ने गरेकाले बजारहरु साँझमै सुनसान हुन थालेका छन् ।