काठमाडौं । एकपछि अर्को गर्दै बोल्ड निर्णय गरेर चर्चामा आउनुभएका पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले कुलमान घिसिङ आफ्नो प्रेरणाको स्रोत व्यक्ति भएको बताउनुभएको छ ।
एक कार्यक्रममा मन्त्री आलेले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङबाट राजनीतिज्ञहरूले समेत धेरै सिक्न बाँकी रहेको बताउनुभएको हो ।
'वास्तवमा कुलमान घिसिङ भनेपछि मान्छेको मनमनमा, हृदयमा जोडिएको नाम हो। उहाँबाट धेरै सिक्नु पर्ने छ। हरेक मान्छेले कुलमान घिसिङबाट धेरै कुराहरु सिक्नुपर्ने छ। उहाँ प्रेरणाको स्रोत हो, हामी राजनीतिज्ञहरूले उहाँले जत्ति गर्न नसके पनि कम्तीमा उहाँको ५० प्रतिशतमात्रै पनि गरिदिए भने यो देशको लागि इतिहास हुन्थ्यो,' मन्त्री आलेको भनाइ थियो ।
नेपाल वायुसेवा निगमभित्रको बेथिति अन्त्य गर्न पहल गरिरहनुभएका मन्त्री आलेले यसबीचमा निगमको जहाजलाई विस्फोटक पदार्थ बोक्न अनुमति दिने निर्णय समेत गर्नुभएको छ । निगमलाई आत्मनिर्भर बनाउन मन्त्री आलेले गर्नुभएका पछिल्लो निर्णयको निगमका पूराना कर्मचारीहरुले समेत प्रशंसा गरेका छन् ।
पर्यटन बोर्डमै आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको कार्यशैलीको खुलेर आलोचना गर्नुभएका मन्त्री आलेले बतास समूहले नारायणहिटी संग्राहालय परिसरमा निर्माण शुरु गरेको चार तारे रेष्टुरेन्टको निर्माण प्रक्रियामा रोक लगाउनुभएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अनियमित तरिकाले रेष्टुरेन्ट निर्माणको अनुमति बतास समूहलाई दिएको थियो । त्यसविरुद्ध एक्सनमा उत्रनुभएका मन्त्री आलेले छानबिन समिति समेत गठन गर्नुभएको छ ।
यसैबीच मन्त्री आलेको पछिल्लो बोल्ड निर्णयहरुको बुधवार बसेको मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रशंसा गर्नुभएको थियो । आले एकीकृत समाजवादीका तर्फबाट मन्त्री बन्नुभएको हो । अध्यक्ष माधवकुमार नेपालले पार्टीका मन्त्रीहरुलाई यसअघि नै बोलाएर जनताको मन जित्ने गरि काम गरेर देखाउन निर्देशन दिनुभएको थियो ।