-गीता ज्ञवाली
आज अनौठौ लाग्दैछ संसार, कतै हराभरा फूलबारी त कतै उराठलाग्दो समाज, यही होला प्रकृतिको खेल सानैदेखि आमाको काखबाट जे सिक्दै आयौं, अनि देख्दै, सुन्दै, जान्दै र मान्दै आयौं कतैकतै यो भन्दा भिन्न पनि रहेछ संसार हामीले त केवल कुनै कथाका एक अन्धा पात्रले हात्तीको जीउ मसारेर हात्ती भित्ता जस्तै हुँदो रहेछ भने जस्तै संसार र संस्कारका एक हिस्सामात्र रहेछौं । संसार बुझी नसक्नु र जानी नसक्नु रहेछ ।
संसार एक नाटक घर र हामी त्यसमा आफ्नो निश्चित भूमिका निभाउन आएका पात्र । सबैले आ–आफ्नो भूमिका निभाइरहेका छन् यहाँ । यस्तै भूमिकाको मूख्य पात्र बनेका एक जोडि सुरज र सन्ध्या !
दिनहरु बित्दै गए, सम्बन्ध उनीहरुको मात्र होइन परिवार देखि परिवारसम्म माया जोडिदै गयो । विहे गर्ने पक्का भयो । सुरजको बुवाले सुरज र सन्ध्या अझै सानै छन्, यिनीहरुलाई माया के हो, सम्बन्ध र विवाह के हो जान्न बुझ्न दिनुपर्छ पछि उमेर, शिक्षा र व्यवहारले पाको भएपछि विहे गरौंला भन्नु भयो । कुरा कुरामा हाँसो गर्दै बरु आजै देखि बुहारी भनौला हुँदैन र सम्धी ज्यू भन्नसम्म भ्याउनु भयो । तर सन्ध्याका बुवाआमाले भने छोरी मान्छेको जात छिटै घरवार गरे राम्रो हुने कुरा गर्नु भयो । सुरजलाई पनि विहे गर्न कर गर्नु भएछ । सुरज र सन्ध्या भर्खर कक्षा बाह्रको पढाई सकेर उच्च शिक्षाको पढाइको तयारीमा थिए । सुरजलाई पढाइसँगै संगीत र वाद्यवादन तिर रुचि थियो भने, सन्ध्यालाई शारिरीक व्यायाम, कसरथ, खेलकुद, तिर बढी रुची थियो । सन्ध्याको रुची खेलमा देखेर सबै अनौठो मान्थे र दुवै परिवारले साथ पनि दिएका थिए । सन्ध्याले त सुरजको मम्मीलाई मम्मी भनेर सम्बोधन गर्थी र उहाँको हातको केही नखाए भोकै बसेको अनुभूत गर्थी । सन्ध्यालाई आफ्नो परिवारले भन्दा सुरजको परिवारले खेलकुद र पढाईमा बढी साथ दिएको देखेर आफ्नो भविष्यको कुराले मनमनै दंग थिई, त्यसमाथि सुरज पनि कम बुद्धिमान, कम चातुर्य र कम सुन्दर केटा थिएन । यो कुरा उसको हरसमय मस्तिष्कमा बसिरहन्थ्यो कि मैले यो घर कुनै कारणले पनि गुमाउनु हुँदैन भनेर । घरका सबै परिवार पनि सन्ध्याको पक्षमा थिए ।
अब भने सन्ध्याको घरमा विहेको चर्चा चल्न थाल्यो, सुरजको परिवार विहेको भन्दा पनि सुरजको भविष्य र पढाइको विषयलाई लिएर चिन्तित थिए । त्यसैले सुरजलाई पढ्नका लागि अमेरिका पठाउने निधो गरे र त्यसका लागि आवश्यक प्रकृया शुरु गर्न तर्फ लागे । यता सन्ध्या भने विहेको पुरै तयारीमा थिई र सुरजलाई फकाइरहेकी थिई भने सन्ध्याका बुवाआमाले र सम्पूर्ण परिवारले विहे गर्न कर गरिरहेका थिए । सुरजले विदेश जाने कुरा सुनाएपछि त झन उनीहरुले विहे नगरी विदेश जानु नहुने कुरा गरे । यसै विषयलाई लिएर दुई परिवारको बीचमा दुई मत बन्यो । सन्ध्यालाई नै विहे गरे पनि अध्ययन सकेर जिन्दगी बुझेपछि, विहे गर्नु पर्छ भन्ने सुरजका अभिभावकको प्रस्तावको विपक्षमा उभिए सन्ध्याको परिवार । दुबै परिवारको मत नमिले पछि सुरज र सन्ध्या आखिर भागेर विहे गर्न बाध्य भए । अठार बर्षको उमेरमा दुवैले विहे गरे । उनीहरु विहेपछि केही समय घर बाहिर बसे, उमेर सानै, अध्ययन गर्ने समय, खर्चको जोहो जुटाएर बस्न निकै कठिन थियो, परिवारको साथ नपाएपछि उनीहरु केही समय निकै भौंतािरए । यता भने सुरजका बुबाआमाको मन निकै दुख्यो, जिउँदाको जन्ति, मर्दाको मलामी, आखिर हामी पनि उसैसँग विहे गर्ने भनेका थियौं यो उमेर, शिक्षा नै पुरा नभई विहे नगरौं मात्र भनेको भन्दै निकै पिर मानिरहेका थिए, हुँदा हुँदा उनीहरुको मन मानेन र जे भयो भयो भनेर सुरज सन्ध्यालाई दशैंको टिकाको दिन पारेर घरमा बोलाए । अब सुरज र सन्ध्याको दुःखका दिन सकिएछन् भन्ने अनुभव सन्ध्यालाई भयो । सुरजका बुबाले सुरजलाई भन्नुभयो । अझै पनि केही बिग्रेको छैन, अध्ययन गर्न जाने भए म कागज मिलाई दिन्छु, भने पछि सुरज खुसीले उन्माद थियो । सन्ध्या खेलमा निकै अब्बल थिई । खेल्ने क्रममा देश र विदेश पनि जाने अवसर पाएकी थिई । अब दुवै जना विदेश जाने भनेर दंग थिए । उनीहरुको विवाह उमेर नपुगी भएकाले सुरजले विवाह दर्ता गर्न पाएन, र अविवाहित को भिजा बनाएर ऊ अमेरिका जाने भयो । कागज पत्र सबै तयार भए । भिजा आयो, र विस्तारै अमेरिका जाने दिन पनि आयो । यता सन्ध्या महिनावारी हुँदा पेट दुख्ने र अत्यन्त धेरै रक्तश्राव हुने समस्याले ग्रस्त हुन थाली । उसलाई पाठेघरमा समस्या देखियो लामो समय औषधि खानुपर्ने भयो । जस्को कारण अब ऊ घर देखि टाढा खेलका लागि अवसर पाउँदा पनि जान नसक्ने भई ।
आर्थिक रुपमा सन्ध्याका माइतिभन्दा सुरका परिवार सम्पन्न थिए । सहरमा दुई तीनवटा घर त भाडा लगाएका थिए । आफ्नै गाडि, टन्न जग्गा, जमिन, गाउँका ठूलैमा गनिन्थे । तर यता सन्ध्या सानै देखि माया लाग्ने भएकै कारण र जातभात पनि मिल्दोजुल्दो भएको कारणले मात्र सन्ध्यालाई बुहारी स्वीकारेका थिए । तर उनीहरु बीच वर्गीय भिन्नता भने कायम थियो । सन्ध्या सामान्य मध्यम वर्गीय परिवारकी छोरी थिई । सन्ध्याका बाबु विद्यालयका सहयोगी थिए, आमाले घरको काम गर्थिन । आज थाहा हुन्छ, उनीहरुलाई भित्र कुनै एक छेउमा, अब आफूहरु पनि धनी हुन लागेको भान हुँदो रहेछ । विभिन्न तर्किपहरु निकाल्दा रहेछन् ।
सुरज अमेरिका जाने दिन पनि आयो, सुरज विदा भयो, सन्ध्या रुन थाली म यस्ती दुई जीउकी लाई छोडेर कति समय म एक्लै बस्नु कसरी बस्नु, मलाई छिटो त्यतै बोलाउने व्यवस्था मिलाउनु भन्दै रुन थाली र आमा बुबाले सबैले टिका लगाएर विदाई गरे । केही बेरमै सुरज चढेको जहाज बादलभित्र लुक्यो । सन्ध्या उदास थिई । त्यसमाथि दुई महिनाको गर्भ थियो उसको पेटमा । अब छोरोको नासो, समालेर राखेकी बुहारीलाई सासुले निकै मायाले हुर्काउन थालिन्, बुहारीलाई केही काम गर्न लगाउँदैन थिइन, बिहान ओछ्यान मै खाना आइपुग्थ्यो, साँझ विहान आफै सँगै घुमाउन लैजान्थिन्, चिसो, तातो, भोक तिर्खाको निकै ख्याल राख्थिन्, जीवनमा कमैले यस्तो माया पाउलान् सासुबाट । सन्ध्या त्यसैले पनि दंग थिई र सासुसँग लाडिएर कुरा गर्थि र भन्थी, मम्मी आज मलाई यस्तो खान मन छ, । दिन प्रतिदिन उसका फरमाइसहरु बढ्दै गइरहेका थिए । यसरी फरमाइस गर्ने क्रममा एक दिन बजार जाने कुरा गरी घरमा बस्दा बस्दा निकै बोर लाग्यो, कलेज पनि जानु छ, एकछिन बजार पुगेर आउँछु भनेर जिद्धीकै भरमा घरबाट एक्लै निस्की, आफै कार चलाएर गएकी थिई । उसलाई साथीहरुसँग कार चलाउन जानेको र आफ्नो कार चढ्ने हैसियत छ भनेर देखाउनु थियो ।
बिहान खाना खाएर निस्केकी सन्ध्या साँझसम्म घर नफर्किँदा घर परिवार सबैलाई चिन्ताको विषय बन्यो, फोन गर्यो फोन अफ छ, आफन्तको घर कसैकोमा पनि गएकी छैन, साथीहरु कसैले पनि देख्यौं र भेट्यौ भन्दैनन् अब यो परिवार निकै चिन्तामा पर्यो । यता सन्ध्याका बाबु आमा रुन कराउन, सुरजका परिवारलाई नानाभाती गरेर गाली गलौज गर्न लागे । मेरी छोरीलाई के गर्यौ, पहिले पनि विहे गर्न मानेका थिएनौं मन नपरेकी बुहारी, मारेर फाल्यौ कि भन्दै विभिन्न आरोप प्रत्यारोप गर्न थाले । यो कुराले दुई परिवारको मन त फाट्यो फाट्यो, अमेरिका भएको सुरजसँग पनि पुग्यो । सुरज चुप बस्न सकेन आफ्ना ससुरालीले भनेका सबै कुरामा पत्याएर आफ्ना बाबुआमालाई गाली गलोज गर्ने, आफू नखाने बहुलाएर हिड्ने गर्न थाल्यो, मेरी गर्भवती श्रीमतीलाई के गर्यौ भन्ने आरोप लगाउन थाल्यो । यता सन्ध्या हराएको आज एक हप्ता पुगी सकेछ । चारै तिर प्रहरी प्रशासन, नागरिक समाज, संचार मिडिया, सबैको सहयोगमा खोजिकार्य तिब्र पारिएको थियो ।
एक दिन मौसम उराठ थियो, घाम न पानिको अवस्था थियो । परिवार सबै चिन्तित मुद्रामा थिए । धेरै दिन देखि घरको चुलोमा मिठो चोखो र परिकार बनेको थिएन, केवल बाँच्नका लागि खाइरहेका थिए । निकै ठूलो बज्र परेको थियो परिवारलाई । एक्कासी एउटा आवाज आयो, सूर्य प्रकाश जी, बाहिर आउनुस् त । सुरुजका बुबा बाहिर निस्किनु भयो, बाहिर आँगनमा प्रहरीहरु, छरछिमेकले भरिभराउ थियो । उहाँले के भयो कि न र भन्दै प्रहरीलाई प्रश्न गर्नु भयो र प्रहरीले ल हजुरहरुको नासो भेटाएर ल्याएका छौंं भन्दै टाउकोमा चोट लागेकी स्मरणशक्ति गुमाएकी, सन्ध्यालाई अगाडि उभ्याइदिए । सुरजकी मम्मीले त मनले छोरी मानेकी सन्ध्या देख्ने बित्तिकै झम्टेर रुन लागिन्, कहाँ गएकी यत्तिका दिन ? के भयो ? नजाऊ त भनेकै हो नि कलेज गएर आउँछु भन्दै हिंडेकी थियौं, कसरी यस्तो भयो, कुन कंशका फेला पर्यौकि कसरी के भयो भन्दै एकाएक प्रश्नका बाढी तेस्र्याउन थालिन् । एकछिन अंगालो कसिन र बेस्सरी रोइन् ।
एक छिन माहोल नै आँसुमय बन्यो । सन्ध्यालाई घरभित्र लगियो । तर अब सन्ध्या ती सन्ध्या थिइनन्, कसैसँग नबोल्ने, केही नखाने, नहाँस्ने, सन्ध्या भएकी थिइन्, यो कसरी भयो रहस्यको पर्दा भित्र नै छोपियो र प्रहरीको अनुसन्धानको विषय बन्यो । तर तत्काल सन्ध्याको उपचारको विषय पहिलो र महत्वपूर्ण कर्तव्य बन्यो त्यस परिवारको लागि । सन्ध्यालाई तत्काल अस्पताल पु¥याइयो, सर्वप्रथम त उसको पेटको बच्चाको अवस्था हेरियो, अब उसको पेटमा कुनै बच्चा थिएन, र आमा बन्न सक्ने अवस्थामा पनि थिइन । उसको सम्पूर्ण स्वास्थ्य परिक्षण गरियो, उसको स्मरण शक्ति गुमेकोले उ कसैलाई चिन्दैन थिई, कसैसँग बोल्दैनथिई । आफूको हो, कहाँबाट आई, यतिका मानिसले उसलाई किन माया गरिरहेका छन्, उसलाई केही भनकसम्म थिएन । उता सुरजलाई सन्ध्या भेटिएको खबरले केही राहत मिले पनि सन्ध्याको अवस्थाले झन चिन्ता थपिएको थियो । पढाइ छोडेर तत्काल नेपाल फर्कन सक्ने अवस्था पनि थिएन, त्यहाँ पढेर बस्न सक्ने अवस्था पनि थिएन ।
सन्ध्यालाई मानसिक अस्पतालका डाक्टर घरमै झिकाएर उपचार गर्न थालियो, अस्पताल बस्दा अवस्था झन बिग्रिन सक्ने भन्दा सुरजका बुबाले घरमा नर्स नियुक्त गर्ने निधो गर्नु भयो, र खर्चको कुनै प्रभाव नगरी विभिन्न औषधी, थेरापी, दैनिक अभ्यासद्वारा सन्ध्याको उपचार तिब्ररुपमा शुरु गरियो । हुन पनि सुरज गएपछि त्यो घरकी एक मात्र सन्तान भएकी सन्ध्या सबैकी आँखाकी नानी थिई सबैले असाध्य माया गर्थे । उसको उपचारमा सबै हरपल जुटेका थिए । हुन पनि हिउँदको कठ्याङ्ग्रीने जाडोलाई चिर्दै उदाएको सूर्य जस्तै गरी विस्तारै निको हुँदै थिई सन्ध्या । र विस्तारै सुरजसँग कुरा गर्न सुरु गरेकी थिई विस्तारै बोल्ने, परिचय खोज्ने, गर्दै थिई सबैसँग । यो प्रकृया विस्तारै बढ्यो र करिब छ महिनाको उपचारपछि लगभग पूर्ण जस्तै निको भई । तर उसले आफू कसरी त्यो अवस्थामागई भन्न सक्ने अवस्थामा भने पुगेकी थिइन ।
त्यस परिवारमा धेरैदिनपछि गमको खाडल खुसीले भर्दै थियो । बिस्तारै उता छोराको पढाइ पनि अब सकिन आँटेको थियो सन्ध्या पनि पूर्ण रुपमा निको भएर सुरज घर आउने बाटो हेर्न थालेकी थिई । धेरै लामो समय विरामी भएर सासुको प्रत्यक्ष सेवामा निको भएकी सन्ध्यालाई एक दिन माइत जान मन लाग्यो, एकछिन बुबा आमा भेटेर आउँछु भन्दै निस्किन लागि । पहिले यसरी एक्लै निस्केर ठूलो तनावपछि त्यो अवस्थामा भेटिएकी सन्ध्यालाई कसैले पठाउने मन गरेनन् । सुरजका बुुबा आफै सन्ध्याको घरसम्म पु¥याउन जानुभएको थियो र फर्किदा लिन बोलाउनु, एक्लै नहिड्नु भन्नु भएको थियो ।
साँझ छिटै फर्किन्छु भनेर सासुको हातबाट दही खाएर, ससुराको गाडीमा बसेर माइत गएकी सन्ध्या साझ घर फर्किन । बुबालाई लाग्यो, यत्तिका दिनपछि गएकी बसुस् । न्यास्रो लागेको होला । दिनभरिमा के मेटिन्थ्यो, आमाले सोच्नु भयो, बेला बेला चक्कर आयो भन्छे, टाउकोमा चोट लागेर त्यस्तो अवस्थाबाट गुज्रेर आएकी मान्छे फेरि केही भयो कि ? एक पटक बुझ्नु प¥यो । फोन लगाउनुस् हजुर भन्दै आत्तिदै बाहिर निस्किन् ।
सुरजका बुबाले फोन लगाउनुभयो, सन्ध्या ! के भो सन्चै त छौ नि ? तिम्री आमा यहाँ किन आइन विरामी पो परी कि भनेर छट्पटाएकी छिन्, उसलाई सानै देखि मेरो हातको केही नखाई निद्रा लाग्दैन, आज किन आइन भन्दैछिन् ।
उताबाट आवाज आयो को सन्ध्या ? के को सन्ध्या ? मार्न नसकेर मेरी छोरी को त्यो अवस्था बनायौं । अब मेरी छोरी त्यो घरमा बस्दिन, तिम्रो छोरा अमेरिका गएको यतिका वर्ष भयो, न आफू आउँछ, न छोरीलाई बोलाउँछ, घरको काम गर्ने विना पैसाको नोकर भित्र्याएका कि बुहारी, आफ्नो पति विनाको घर कसरी बसुस् मेरी छोरी, बस्दिन त्यो घर । एकाएक यस्तो कुराले सूर्यप्रकाश रनभूल्ल परे, हामीले त केही गरेका, भनेका, बोलेका थिएनौं के भयो र फेरि ? सन्ध्या सँग बोल्न मिल्दैन भन्दै अनुरोध गरे । उताबाट सन्ध्याका बाबु, बोल्दिन भनेकी छे भन्दै फोन काटिदिए ।
यसैका केही दिनपछि घरअगाडि अदालतको कारिन्दा देखा पर्यो । कारिन्दाले सूर्यप्रकाश र उनीकी पत्नीले छोरो लुकाएर बुहारीलाई घरेलु हिंसा गरी दुःख दिएको मात्र नभई हत्या सम्म गर्र्न खोजेको कारणले म अब त्यो घरमा बस्न नसक्ने भई माइती घरमा आएर बसोबास गरेकी छुँ । त्यसैले म लालनपालन, बाँच्नका लागि मेरो भागमा पर्ने अंश बराबरको रकम सहित पारपाचुके गरिपाउँ भन्ने व्यहोराको निवेदन सूर्यप्रकाशको हातमा पारिदियो । सूर्यप्रकाश निकै चिन्तामा परे । पहिले उसकै उपचार गर्दा शहरको घर बेच्नु पर्यो, अहिले उसलाई अंश ? के गर्नु एक छिन त सोचिरहे । ‘बाघको बच्चा पालेर उसकै आहारा ।’ भने जस्तो ।
बहस निकै दिन लम्बियो । मान्छेले मानवता भूलेर धर्म छाडेपछि कसैको केही नलाग्ने रहेछ, त्यसमाथि पैसामा बिक्ने नेपालको कानुनको के कुरा । अन्त्य त उसलाई मानो पाथीको रुपमा उनीहरुले क्षतिपूर्ति स्वरुप करिब चालिस लाख नेपाली रुपैयाँ दिएर पारपाचुके गरियो । यति मात्र गरिएन । उनीहरुलाई छ÷छ महिना कैद गर्ने भनि पक्राउ पुर्जा थमाइयो र धरौटीमा निस्कीदा आफूहरु बस्दै आएको बास धरौटी राखियो । व्यवसाय जफत गरियो । पाउनुसम्मको सजायँ पाए । यस्तो कानुन यमराजको प्रशासनमा पनि छैन होला । सुरज छाँगाबाट खसेजस्तै भयो आफूले सानै देखि सँगै खेलेको खाएको साथी त्यसमाथि परिवारको सल्लाह बाहिर गएर विहे गरेको, परिवारले त्यति माया गर्दा पनि उसैकै कुरा सुनेर बाबुआमालाई नै उल्टै कराएँ आज यसले यस्तो गरी भनेर धन्नै आत्महत्या गरेन । सबैको सुझाव र सान्त्वनाले पनि केही थामियो । यता बुवा आमालाई रित्तो पारेर, मनदेखि धनसम्म सबै निखारेर लगि । यो धन भन्ने चिज पनि के रैछ प्रभो ! भन्दै निकै चिन्तामा परिरह्यो । यता सूर्यप्रकाश कि श्रीमती हिजो समाजको रमाइली र हँसिली मान्छे आज हाँस्न विर्सेकी छिन्, त्यो समाजमा तिनीहरु नुन खाएको कुखुरा जस्तै भएका छन्, । वास्तवमा अन्यायमा परेका छन्, पिडकले एकपछि अर्को खुकुरी प्रहार गरिरह्यो उनीहरु अचानो बनिरहे, न समाजले न्याय दियो, न काननुले नै ।