-सरस्वती पौडेल
आकाशका जुन, तारा अनि त्यो बादल हेरेर
फेदमै निदायो बच्चो रुखको काफल हेरेर ।
म चुँडेको चप्पल लाएरै घरसम्म आइपुगेँ
शहरभरी अरुले लगाएको चप्पल हेरेर ।
यो जिन्दगीले नै भाँडाकुटी खेलाइराको बेला
छोरछोरी रोइदिन्छ्न खेलौनाको पसल हेरेर ।
छोरो पर्देशियो, फर्केन अझै घरमा खोइ,
आमा रुदैछिन् ढोकामा राखेको जल हेरेर ।
अदालतले बिना सबुत पारपाचुके थमायो,
छोरालाई बाउ दिलाउ यसको सक्कल हेरेर ।
मायाले हो सम्बन्ध र स्थायी हुने
घर नजलाउनु अरु कसैको ताजमहल हेरेर ।
२
बैगुनीलाई पनि गुन लगाउनु पर्छ भन्ने आदत छ
यसकारण दुश्मनहरुसँग पनि मेरो सहमत छ ।
सपनाको धरौटी राखी बन्धकमै खुसी किनेको हुँ
तिर्न नसके नसिबको उधारो जिन्दगी जफत छ ।
तिमी कसरी निष्कलङ्क भयौ , अचम्म लाग्छ,
यो दिल भरी तिमीले नै बनाएको खतैखत छ ।
बेलाबेला किन आँखा तरिरहन्छौ तिमीले मलाई
सोचीरहन्छु अझै तिम्रो मनमा केही कैफियत छ ।
छुट्न त हाम्रो सम्बन्ध इजलासबाटै छुटेको हो ,
तर अझै सिरानीमा आँसुले भिजेको इजाजत छ ।
३
पल्ट्याउन त पल्ट्याइरहन्छु किताब जिन्दगीको
खोइ किन मिल्दै मिल्दैन यो हिसाब जिन्दगीको ।
दिनहुुँ जसो आइपर्छन यी अफ्ठ्यारा सरलहरु
उत्तर खोज्दै सकिने भो यो तनाव जिन्दगीको ।
तिमी छैनौं त दुनियाँमा, कोहि छैन शुन्य लाग्छ
परेन कसै गरी कोही माथी प्रभाव जिन्दगीको ।
तक्दिरमै बक्यौता रह्यो खुसीको एउटा रसिद
बिना बिलमा उधारो रह्यो लगाव जिन्दगीको ।
जुन , आकाश, धर्ति पनि लाग्छ शुन्यशुन्य
नफुलेरै ओइलिएछ यो गुलाब जिन्दगीको ।
चितवन , भरतपूर –५