काठमाडौँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा बनेका थिए ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
नेपाल एकीकरणको सुरुवात गरेका मानिने पृथ्वीनारायण शाहको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम गरी ३०० औँ जन्मजयन्ती मनाइँदैछ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले दिउँसो पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । गणतन्त्र आउनु पूर्व राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको पृथ्वी जयन्तीलाई फेरि राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आएको छ ।