काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३००औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गर्नुभयो । पृथ्वी जयन्तीको अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । काठमाडौंमा भने साँस्कृतिक झाँकीसमेतको र्याली प्रदर्शन गरिएको छ ।
र्यालीमा उपस्थित भएकाहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन् । उनीहरु आफूहरु नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्व बोध हुने गरेको बताउँछन् । आफू नेपाली हो भन्नेहरुका लागि आजको दिनको ठूलो औचित्य रहेको उनीहरुको भनाई छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्क समेत र्यालीमा सहभागीहरुले गरेका छन् ।
विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ ।
आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सालको क्रान्ति पश्चात नेपालमा आएको प्रजातन्त्र पश्चात योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गर्नुभएको थियो ।
पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो । पृथ्वीनारायण शाहले शुरू गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो ।