काठमाडौं । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढन थालेको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक खिचलो बढ्दै जाँदा पुरानै नाममा तराई मधेस केन्द्रित दल दर्ता गर्ने क्रम बढेको देखिएको हो ।
महन्थ ठाकुर नेतृत्वको पार्टीमा दुई खेमा देखा परेर कार्यकारिणी समितिको बैठक बस्न नसकिरहेको बेला सो पार्टीमा आवद्ध रविशंकर कर्णको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएको छ ।
गत ८ मंसिरमा दर्ता भएको सो पार्टीको केन्द्रीय कार्यालय जनकपुरमा राखिएको छ भने आयोगले सो पार्टीलाई ‘लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल’ चुनाव चिन्ह प्राप्त गरेको छ ।
‘तराई मधेस केन्द्रित दलले मधेस र मधेसी जनतालाई प्रयोग गरेर सत्ताका लागि भर्याङ मात्र बनाए, त्यसकारण हामीले तमलोपा दर्ता गरेर राजनीतिक गतिविधि अघि बढाएका हौं,’ अध्यक्ष कर्णले बताउनुभयो । उहाँका अनुसार हाललाई २१ सदस्यीय केन्द्रीय कार्यसमिति कायम गरेर निर्वाचन आयोगमा दर्ता गराइएको हो ।
लोसपा अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा र राजकिशोर यादवसहित ६ सदस्यीय अध्यक्ष मण्डलबाट नेतृत्व रहेको राष्ट्रिय जनता पार्टी नेपाललाई पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा दर्ता गरिएको छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकीकरण भएपछि विघटनमा पुगेको राजपा नेपाललाई हरिनारायण यादवले आयोगमा दर्ता गराउनुभएको हो । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको चुनाव चिन्ह ‘दायाँ हातले समातेको मशाल’लाई प्रयोग गर्दै यादवले पुरानो पार्टीलाई आफ्नो नेतृत्वमा दर्ता गराउनुभएको हो । उहाँले केन्द्रीय कार्यालय भने काठमाडौं तोकेका छन् ।
बहुदलीय व्यवस्था र गणतन्त्र स्थापना अघि तराई मधेस केन्द्रित एक मात्र राजनीतिक दल ‘सदभावना पार्टी’लाई पनि बिभिन्न नाममा राखेर निर्वाचन आयोगमा दर्ता भएको छ ।
गजेन्द्रनारायण सिंहले स्थापना गरेको ‘सद्भावना’ नाम जोडेर विश्वनाथ साह र राजकुमार महतोले अलगअलग नाममा राजनीतिक दल दर्ता गराउनुभएको छ ।
साहले ‘गदा’ चुनाव चिन्ह राखेर राष्ट्रिय सद्भावना पार्टी दर्ता गराउनुभएको छ भने महतोले बहुदलीय व्यवस्थाको कार्यकालमा प्रयोग गर्दै आएको ‘पञ्जा’ छापसहित नेपाल सद्भावना पार्टी दर्ता गराई राजनीतिक गतिबिधि अगाडि बढाउनुभएको छ ।
त्यसो त, तराई मधेस आन्दोदलनबाट एकाएक स्थापित ‘मधेसी जनअधिकार फोरम, नेपाल’ नामप्रति मोह भएकाहरूले पनि ‘फोरम’ शब्द राखेर विभिन्न पार्टी दर्ता गराएका छन् ।
भाग्यनाथ साहले मधेसी जनअधिकार फोरम मधेस नाम राखेर ‘चर्खा’ चुनाव चिन्हसहित राजनीतिक दल दर्ता गराउनुभएको छ । यस्तै अमर यादवले मधेस तराई फोरम नामको पार्टी दल दर्ता गराउनुभएको छ । गौर केन्द्रीय कार्यालय राख्नुभएका यादवले बाल्टिन चुनाव चिन्ह पाउनुभएको छ भने साहको केन्द्रीय कार्यालय वीरगञ्जमा रहेको निर्वाचन आयोगलाई जानकारी गराइएको छ ।
उता, उपेन्द्र यादवले अशोक राईलगायतका पार्टीसँग एकीकरण गर्दा गठन भएको ‘संघीय समाजवादी’ नामप्रति मोह राख्दै विगतमा सोही पार्टीमा रहेका रिजवान अन्सारीले नेपाल संघीय समाजवादी पार्टी दर्ता गराउनुभएको छ । काठमाडौंलाई केन्द्रीय कार्यालय बनाएका अन्सारीले आयोगबाट बस चुनाव चिन्ह पाउनुभएको छ ।