– भरतकुमार भट्टराई
१ लघुकथा : जङ्गे स्तम्भ
“ए पख् ! मेरो शरीरमा नछो ।” जङ्गे पिलर जोडले करायो ।
“किन चिच्याएको मूर्ख !” काला हातहरू बौलाए ।
“भलै मलाई कसैले याद नगरोस् तर म यस देशको पहरेदार हुँ । सबै देशवासीको मुटु हुँ । छुने अधिकार त्यसैलाई छ जो नेपाली शुद्ध रगतले पवित्र छ ।” पिलर बोल्यो ।
तर काला हातहरू के टेर्थे । धमाधम स्तम्भ उखेलेर सीमाको चिह्न मेटाउन तयार भए ।
एक ठूलो आवाज आयो, “आमाऽऽऽऽऽऽ !”
क्षणभरमै त्यहाँ तीन आबाजहरू आइपुगे । दुई पुरुष आबाज र एक महिला आबाज थिए। दुई पुरुष र महिलाका आवाजमा कसैको तराईको र कसैको पहाडको आवाजको सङ्केत मिल्थ्यो । उनीहरू आआफ्नै हतियारमा सुसज्जित सङ्केत पनि झल्किन्थ्यो।
काला हातहरूले सोझै ती आवाजहरूमाथि धावा बोले । आवाजहरू रोएको कराएको र घाइते भएको आवाजमा रूपान्तर भइरह्यो ।
काला हातहरूले जितेजस्तो के देखिएको थियो तुरुन्तै त्यहाँ अन्य सयौँ युवायुवतीका आवाजहरू “जय भवानी ! जय महादेव !!” भन्दै थपिए ।
ती सयौँ आवाजहरूले काला हातहरूमाथि प्रहार गरेको भीषण सङ्केत देखियो । काला हातहरू रुँदै कराउँदै भागेको अनुभव भयो ।
जङ्गे स्तम्भले हिम्मतका साथ भनेको सुनियो, “जय अम्बे नेपाल !”
२. लघुकथा : माग्नेको गीत
उसलाई माग्न पटक्कै लाज लाग्दैन । गोरो छाला देख्यो कि त माग्ने तानाबाना बुन्न योजना बनाइ–हाल्छ । उसको यही प्रयोजनका लागि एउटा दल पनि तयार छ । दलको नाम छ – माग्नेको गीत ।
दलका पदाधिकारीहरू टाढाका खोज्नै पर्दैन । उसले बुढीलाई भन्यो, “हेर म्याडम ! हाम्रो समग्र देशको विकासको मूल पद्धति यही हो । म उपाध्यक्ष हुन्छु, तिमी दलको अध्यक्ष बन । महिलाको सशक्तीकरण पनि झल्किन्छ । छोराछोरी, सालासाली, भाइभतिजा र दिदीबहिनी सबै दलका जिम्मेवार पदहरूमा राखेर हाम्रो अर्थतन्त्र सुधार गर्नुपर्छ र दललाई बलियो बनाउनुपर्छ ।”
उसकी पत्नीले पनि भनी, “एकदमै सही निर्णय गर्नुभो हजुर ! यसमा मेरा बाआमाले पनि उपयुक्त पद पाउनुपर्छ है !”
यस दलको आफ्नो खास कुनै कार्य हुँदैन । मागेको पैसाले ठूलाठूला तारे होटलमा गोष्ठी गरेर प्रतिवेदन प्रस्तुत गर्नैमा योजनाहरू सीमित हुन्छन् । ती कार्यहरू गरेका र आफन्तहरूलाई विभिन्न सहयोग गरेका कार्यहरूका राम्राराम्रा फोटाहरू आफ्ना कार्यालयमा प्रदर्शन गर्न र फेसबुक, इन्स्टाग्राम, ट्विटर आदि सामाजिक सञ्जालमा प्रदर्शन गरी स्वदेशी तथा विदेशी दातृसंस्थाहरूलाई प्रभावित गरी प्रोजेक्ट हात पार्न र पैसा झार्न उसको दल खप्पिस थियो ।
यसरी नै उसले दलका नाममा गाडी, घर, जग्गाजमिन पनि जोड्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय बैङ्कमा गोप्य रूपमा पैसा जम्मा गर्न पनि सफल भयो ।
हाल उसको परिवार नेपाल कम र विदेश बढी बस्न थालेको छ ।