राज दयाल
ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका २ की मञ्जिता बिश्वकर्मा निर्वाचित वडा सदस्य हुनुहुन्छ । अहिले उहाँ २७ वर्षको हुनुभयो । सम्भव त उहाँ जिल्लाकै सबैभन्दा कान्छी निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । धर्मकर्ममा बढी रुची राख्ने उहाँ आफन्त, साथीभाई र पार्टीको सहयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलित महिला कोटाबाट ३ सय ८० मत ल्याएर वडा सदस्य पद जित्न सफल हुनुभयो ।
त्यसबेला उहाँ मात्रै २२ वर्षको हुनुहुन्थ्यो । एक त सानो उमेर त्यसमाथि नेतृत्व सम्हाल्नु त्यति सहज कुरा पनि थिएन । जनप्रतिनिधि भएर पनि उहाँलाई स्थानीय तहमा आफ्नो भूमिका के ? कुनै पनि सार्वजनिक कार्यक्रममा निर्धक्क रुपमा आफ्नो भनाइ कसरी राख्ने ? नेतृत्व कसरी निर्वाह गर्ने ? भन्ने कुराको ज्ञान नै थिएन । जानेको कुरा बोल्दा पनि बिग्रिने हो की ? जस्तो लाग्थ्यो भने बोल्नको लागि माईक समाउँदा हात थरथर काँप्ने गर्थ्याे । तर अहिले यो अवस्था फेरिएको छ । उहाँ अहिले वडा कार्यालयको प्रत्येक कार्यक्रममा सहभागि भएर निर्धक्क रुपमा आफ्नो भनाइ राख्नुहुन्छ, वडाको योजनामा निरन्तर अनुगमन गर्नुहुन्छ । स्थानीय नागरिकको गुनासो सुनेर सकेसम्म वडाबाट समाधान गर्न पहल गर्नुहुन्छ।
जिल्लाका थुप्रै स्थानीय तहका वडामा कतिपय वडाअध्यक्षहरुले एकलौटी रुपमा योजना निर्माण गरेर वडा सदस्यहरुलाई हस्ताक्षर मात्रै गराउने गरेको पनि प्रशस्तै उदाहरणहरु छन् । तर सुनकोशी २ मा भने यो अवस्था आएको छैन किनकी यस्ता बेथितिहरुको प्रतिकार गर्न आफूहरु सक्षम रहेको मञ्जिता बताउनुहुन्छ । सुरुमा वडा सदस्यको समेत नेतृत्व सम्हाल्न मुस्किल हुने उहाँ अहिले गाउँपालिकाकै नेतृत्व सम्हाल्न सक्ने हिम्मत गर्नुहुन्छ ।
मञ्जिता जस्तै अर्का निर्वाचित वडा सदस्य हुनुहुन्छ यानमायाँ तामाङ । उहाँले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनजाती महिला कोटाबाट चुनाव जितेर मोलुङ गाउँपालिका ६ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। अहिले ५० वर्ष पुग्नु भएकी तामाङले भने पहिलेदेखि विभिन्न संघसंस्था तथा समूहमा आवद्ध भइ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउनु भएको थियो । तर महिलाले पनि खुल्ला रुपमा वडा सदस्य मात्र नभई पालिका प्रमुख वा उपप्रमुखको समेत निर्वाचन लड्न पाउँछन भन्ने कुरा नै उहाँलाई थाहा थिएन ।
पार्टीले जुन कोटा आफ्नो लागि छुट्याएको छ त्यतिमै आफुहरु सिमित हुनुपर्छ भन्ने उहाँलाई लागेको थियो । तर अब यो सबै कुराको ज्ञान उहाँले पाईसक्नु भएको छ । आफुमा पहिले भन्दा धेरै नेतृत्व विकास भैसकेकाले अब आउने स्थानिय तहको चुनावमा वडा सदस्यमा सिमित नभई पालिका प्रमुख वा उपप्रमुखकै जिम्मेवारी सम्हाल्न सक्ने उहाँको आत्मविश्वास छ ।
उहाँहरु जस्तै ओखलढुंगाको ४ स्थानीय तहका ६७ जना निर्वाचित महिला जनप्रनिधिको धेरै हदसम्म नेतृत्व विकास भएको छ । उहाँहरु अहिले आफ्नो जिम्मेवारी वहन गर्न थप सक्षम हुनुभएको छ । जिल्लाका निर्वाचित वडा सदस्यहरुको क्षमता विकासका लागि दलित महिला केन्द्रको 'सी लिड्स' परियोजनाले विभिन्न ३ चरणमा तालिम सञ्चालन गरेको थियो ।
तालिममा सहभागि भएपछि नै आफूहरुमा अझ ठुलो पदमा रहेर पनि जिम्मेवारी वहन गर्न सक्ने हौसला मिलेको महिला जनप्रतिनिधिहरु बताउनुहुन्छ । ३ पटक जिल्लामै र १ पटक काठमाडाैंमा सी लिड्स परियोजनाले दिएको तालिमबाटै आफ्नाे क्षमता विकास भएको वडा सदस्य मञ्जिताको भनाइ छ । तालिमले आफूलाई नेतृत्व क्षमतामा मात्र नभई संविधानको धारा, उपधारा जस्ता थुप्रै कुराको ज्ञान दिएकाले सी लिड्स परियोजना धेरै समय अघि नै आफ्नो ठाउँमा आउनुपर्ने रैछ भन्ने लागेको यानमाया बताउनुहुन्छ ।
यता सिद्धिचरण नगरपालिका ३ की वडा सदस्य सितादेवी दमाईले तालिम लिनुअघि कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न माईक समेत समाउनु भएको थिएन । तर तालिम लिएपछि यस्ता कार्यक्रममा माईक समाएरै आफ्नो भनाइ राख्न थालेको उहाँ बताउनुहुन्छ । तालिमले आफूलाई बोल्नुपर्ने ठाउँमा बोल्न, आफू र आफ्नो समाजमा अन्याय कसरी भैरहेको छ ? यसको प्रतिकार कसरी गर्ने ? उजुरी गर्न कहाँ जाने ? जस्ता धेरै कुरा सिकाएको र आफ्नो नेतृत्व विकासमा सहयोग पुर्याएको सितादेवीको भनाइ छ ।
त्यस्तै मोलुङ गाउँपालिका २ की वडा सदस्य रामकुमारी बिकले आफु पढाईमा कमजोर भएका कारण धेरै कुरामा पछि परिएको भएपनि तालिमले धेरै हदसम्म सार्वजनिक कार्यक्रममा बोल्न र आफूले निर्वाह गर्नुपर्ने भूमिका बारे ज्ञान दिएको बताउनुभयो ।
ओखलढुंगाको ८ स्थानीय तहमध्ये ४ स्थानीय तह सिद्धिचरण नगरपालिका, सुनकोशी, मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकामा मात्रै दलित महिला केन्द्रको सी लिड्स परियोजना लागु भएको छ । जिल्लाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागि वृद्धिको उदेश्यका साथ यो तालिम सञ्चालन गरिएको परियोजनाले जनाएको छ । यो कार्यक्रम निकै फरक र प्रभावकारी देखिएकाले अन्य पालिकामा पनि परियोजना लागु गर्न केन्द्रमा प्रस्ताव राखिएको सी लिड्स परियोजना ओखलढुंगाकी अनुगमन अधिकृत बुना बिकको भनाइ छ ।
सी लिड्स परियोजनाले दिएको यी र यस्ता खाले तालिमले महिला जनप्रतिनिधिहरुलाई थप जिम्मेवार बनाउने र उनीहरुको क्षमतामा समेत वृद्धि हुँदै जाने भएकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको जिल्लाका सरोकारवालाहरु बताउँछन् ।