[caption id="attachment_27589" align="alignleft" width="71"]
खेम बम[/caption]
काठमाडौं । विशु पर्व सुदूरपश्चिमका ७ जिल्लाका बिषेश महत्वका साथ मनाइन्छ । जसमा डोटी, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा र वैतडीमा यो पर्वले छुट्टै रौनकता दिने गर्दछ । सुदूरपश्चिमका जिल्लाहरुमा विशु पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ ।
देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रही आएको छ। हरेक वर्ष विशु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ ।
विशुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने विशु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको पाईन्छ ।
विशुको अवसरमा देउडा खेल्दै रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने परम्परागत जनविश्वास रहिआएको छ। विशु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने र पुरुषहरूले विशु बाघ बनाएर दौडाउने गर्छन्।
केही दिनपहिलेदेखि नै अछाम, बाजुरा लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल शुरु गरेका छन्। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी गतानी डुब्का पकाएर खाने प्रचलन छ। हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ।
नयाँ वर्ष अर्थात् विशु तिहारको अवसर पारी नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किन थालेका छन् । विशु पर्वलाई प्रायः हिन्दू धर्म मान्नेहरूको वस्ति भएको प्रत्येक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाल लगायत भारतको कतिपय ठाउँहरूमा यो पर्वलाई बैशाखीको नामले चिनिन्छ ।
बैशाखीको दिनमा गंगा स्नानको ठुलो महत्व छ । भारतको हरिद्वारमा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठुलो संख्यामा स्नानार्थीहरू गंगास्नान गर्नको लागि जाने गर्दछन् । यस पर्वलाई कतिपय ठाउँमा विसु सक्रान्ती पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, विशु पुज्ने दिन पनि भनिन्छ ।
भारतको आसाम राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाईन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिशु पूजा गर्दछन् । नयाँवर्षको उपलक्षमा प्रत्येक ठाउँमा विशु पर्वको राती गल्लौडीको जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।
विशुको अवसरमा परदेशी घर फर्किँदा गाँउघरका उल्लास छाउने गर्दछ । धेरै लामो समय विदेशिएका युवा, परदेशीको आगमनले गाँउलेमा आत्मियता, सहिष्णुता, भाईचाराको सम्बन्ध विस्तार हुने गर्दछ । लामो समयदेखि नभएको भेटले विगतका भएका आपसी कलह, मनमुटावले यस पर्वका अवसरका मुक्ति पाउने गर्दछ ।
विशुलाई महत्वपूर्ण तिहार मानेर सुदूरपश्चिमेलीका चूलोमा मिठो मसिनो पाक्न शुरु भएको छ । गरीब, दुःखीहरुका अनुहारकमा समेत विशुको दिन खुसी छाउने गर्दछ । गाँउघरका एकजनाको घरमा पाकेको परिकार सिंगो टोलमा बाँडेर खाने प्रचलन रहिआएको छ ।
भारतका विभिन्न स्थानबाट विशुको अवसर पारेर घर फर्किने नेपालीहरुले सिमा क्षेत्रका भोग्दै आएको सास्तीमा भने अझै कमी आएको छैन् ।