लमजुङ । लमजुङमा यसवर्ष अलैँची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैँची उत्पादनमा कमी आएको हो ।
गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा चार सय मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष अलैँचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ ।
गत वर्ष अलैंचीको बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।
यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची किसानसमेत रहनुभएका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैँची दाना उत्पादन भएकोमा यो वर्ष २ सय केजी मात्र उत्पादन भएको बताउनुभयो ।
त्यस्तै, बेशीशहर नगरपालिका–१० खाँचेका अलैँची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करिब २०० किलो अलैँची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताउनुभयो । अलैँची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ ।
गतवर्ष ४५० किलो अलैँची दाना बिक्रीबाट रु दुई लाख ७० हजार आम्दानी गर्नुभएको छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैँची दाना बिक्रीबाटै रु दुई लाख २० हजार आम्दानी गर्नुभएको हो । खाँचेका तामाङले गतवर्ष एक लाख २० हजार आम्दानी गर्नुभएकोमा यो वर्ष ३५ हजार मात्र आम्दानी गरेको बताउनुभयो ।
लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैँची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैँची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैँचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ ।