कास्की । गजलकारका रूपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन् । समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ शनिबार पोखरामा विमोचनभएको छ ।
साहित्यकारद्वय सरूभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गर्नुभएकाे हाे । साहित्यकार समीपले झन्डै २ दसक अघि भूगोलमा नकोरिएको देश कृति ल्याउनुभएकाे थियाे ।
कृति विमोचनपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले ५० कै दशकमा पहिलो पटक कविका रूपमा दीपकलाई भेटेको स्मरण गर्नुभयाे । साहित्यकार सरूभक्तले गजलकारका रूपमा सशक्त उपस्थिति जनाइरहेका समीपको मुक्तककारका रूपमा भएको उपस्थिति आफूहरूका लागि पनि सन्तोषको कुरा भएको बताउनुयभयाे । लेखक बन्ने भीडको वर्तमानमा कृति प्रकाशन गर्न हतारिनेका बीच दीपक स्थापित लेखक भएको सरूभक्तले बताउनुभयाे ।
तीर्थ श्रेष्ठले २०३४/३५ सालतिर पोखरेली युवा सांस्कृतिक परिवारले हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक कार्यक्रम गरेको सम्झना गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘उहाँका मुक्तक सुनेरै हामीले मुक्तक कसरी लेख्ने र कसरी वाचन गर्ने भन्ने कुरा सिक्यौं ।’
कवि श्रेष्ठले मुक्तक लेखन सिन्धुलाई बिन्दुमा अटाउनु जत्तिकै कठिन कार्य भएको विचार राख्नुभयाे। ‘मुक्तक लेख्नु भनेको चौतारीमा बसेर गफ गरेजस्तो होइन,’उहाँले भन्नुभयाे, ‘छोटो लेख्नु भनेको कठिन कुरा हो ।’ मुक्तक लेखन चौतारीमा बसेर बात मारे जस्तो नभएको प्रमाण दीपकको मुक्तक सञ्चयन रहेको धारणा राख्नुभयाे ।
कवि रमेश श्रेष्ठले दीपकलाई अक्षर जन्माउन सक्ने मस्तिष्क भएका स्रष्टाका रूपमा चिनाउनुभयाे ।
गजल सञ्चयन प्रकाशनको लामो समयपछि मुक्तक सङ्ग्रहलिएर आएका स्रष्टा समीपले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेर अग्रजले देखाएको बाटोमा अनुजसँग हातेमालो गरेर हिँड्न चाहेको धारणा राख्नुभयाे ।
डा ईश्वरमणि अधिकारीले स्रष्टा चिनारी राख्दै दीपकलाई समकालीन साहित्यमा दीपक भएर बलिरहेको जिकिर गर्नुभयाे ।
कृति समीक्षा गर्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष सञ्जीव पौडेलले समीपलाई समसामयिक विषय चेतका स्रष्टाका रूपमा चिनाउँदै देशको समसामयिक परिवेश नै उनका मुक्तकका विषय रहेको बताउनुभयाे । समीपका मुक्तकमा खास गरी ५ थरी विषय समेटिएको जानकारी उहाँले दिनुभयाे ।
उहाँले मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद समीपको मुक्तकका विशेषता रहेको सुनाउनुभयाे । ‘वर्तमान राजनीतिक परिदृश्यप्रति व्यङ्ग्य उहाँका मुक्तकमा छ,’ पौडेलले भन्नुभयाे, ‘नेता नाङ्गै सत्ताको भर्याङ चढ्छ र मुक्तककार ठाउँको ठाउँको विद्रोह बोल्छन् ।’ पौडेलले मुक्तककार समीपले यथार्थको परिदृश्य मात्रै नदेखाई खबरदारी पनि गरेको सुनाउनुभयाे ।
कार्यक्रममा पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाका पूर्वअध्यक्ष जीवनसागर भण्डारी, साहित्यकार रूपिन्द्र प्रभावी कटु, रीता अधिकारी, अर्जुन अधिकारी लगायतले बोल्नुभएकाे थियाे ।