सुशील खड्का
दैलेख । जंगलको राजा भनिने राउटे समुदाय अभावै अभावले ग्रस्त हुन थालेको छ । जंगलमा काठ काट्न नपाइने र जसो तसो गरी बनाएका सामाग्री समेत विक्री नहुँदा छाक टार्नै सकस भएको होे ।
आफैले बनाएको टहरा बाहेक स्थायी रुपमा बस्न नचाहने राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान तथा प्रदेश ५ को दाङ र प्रदेश ७ को अछामका विभिन्न जंगलमा रिफन्ते जीवन बिताउँदै आएका छन् ।
उनीहरु यतिखेर दैलेखको तल्लो डुंगेश्वर नजिकैको खोला किनारामा छन् । राउटेका मुखीया वीरबहादुर शाहीेले सामान बिक्री नहुँदा आफ्नो समुदायलाई अत्यन्तै समस्या परेको बताए । ‘शिकार पाउँदैन्, काठका भाडा विक्री हुँदैनन्’ उनले जनताससमाचारसँग भने, ‘हाम्रा सामान बिकेन, चामल पठाइदिनू सरकार ।’ मुखिया शाहीले आफ्ना समस्या सरकार समक्ष पुर्याइदिन जनताकर्मीसँग आग्रह समेत गरे ।
राउटे समुदायका बालबालिका आफ्ना आमाबुबासंगै जंगलमै परम्परा अनुसार नै हुर्कछन् । राउटे जंगलमा पाइने रुख पातहरुबाटै आफूलाई बस्ने अस्थायी झुप्रो तयार पार्ने गर्दछन् ।
राउटे महिलाहरु बाहिरी समुदायका मानिसहरुसंग घुलमिल वा बोलचाल गर्न रुचाउँदैनन् । राउटेहरु विशेषगरी आफैले बनाएका काठका भांडाकुंडा प्रयोग गर्छन, बचेका काठका भाडाहरु भने गाउंबस्तीमा पुगेर विक्री गर्छन् ।
राउटेहरुको मुख्य आहारा वनमा पाइने गिठा, भ्याकुर, बांदर, गुना जस्ता वन्यजन्तुको मासु हो । खानेकुराको बन्दोबस्त पुरुषले गर्छन्। बिहेबारी लगायतका सबै सामाजिक व्यवहार आफ्नै समुदायका रास्कोटी, कल्याल र सुवाङ्सी गोत्रभित्र हुन्छ ।
राउटे समुदायमा मातृ तथा बाल मृत्युदर बढी छ । राउटे समुदायमा मुखियाको भूमिका निर्णक हुन्छ, बाहिरी समुदायसंगको सम्पर्क मुखयाले नै गर्छन् ।