काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
यति धेरैजनामा संक्रमण भएपछि सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु कोरोना भाइरस महामारीको त्रासमा परेका छन् ।
प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिनुभयो । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख हुनुहुन्छ । उहाँलाई कोरोना भएपछि सिसिएमसिसीको बैठक नै बस्न सकेको छैन ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू होमआइसोलेसनमा छन् ।
सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।
तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोना संक्रमण भएका कर्मचारीलाई कोभिड काज बिदा दिने गरिएको छ । यो बिदा बढीमा १४ दिन हुन्छ ।