नविन सुवेदी
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको लामो समय बितिसक्ता पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन। सत्ता साझेदार दलका रूपमा सरकारमा हाल नेपाली कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को गठबन्धन छ ।
तर मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिने विषयमा भन्दा नियुक्त भएयता हालसम्म सरकारले गरिरहेका कामबारे विवरण पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले ४० बुँदे उपलब्धी सार्वजनिक गरेपछि सरकार विस्तारबारे गठबन्धनमा अलिकति कुरा नमिलेको संकेत गर्नुभयो ।
मन्त्री नभएर कुनै पनि मन्त्रालयको काम नरोकिएको स्पष्ट पार्दै मुख्यमन्त्री शाहीले भन्नुभयाे, ‘काम भइरहेको छ, सचिवज्यूहरुसँग हरेक दिन प्रगति मागिरहेको छु कामबारे थप जानकारी लिने भए उहाँहरू यहीँ आउनु भएको छ यहीँ बोलाएको छु, सोध्नुहोस् ।’
उहाँले प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्टको भनाइबारे पनि प्रतिक्रिया जनाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ (ठम्मर विष्ट) ज्यूले जुन कुरा बोल्नुभयो । त्यो चाहिँ अनभिज्ञता हो । कुन आधारमा भन्नुभयो, त्यो मलाई पनि थाहा भएन । दलीय व्यवस्थामा र गठबन्धनको सरकार भएको बेलामा कुरा मिलाउनुपर्ने हो ।’
विष्टले मुख्यमन्त्री शाहीले लामो समयसम्म मन्त्रिमण्डललाई विस्तार गर्न चासो नदिएको भन्दै खरो प्रतिकृया जनाउनु भएको थियो ।
‘मन्त्री नबनाएरै सरकार चलाउने सोचमा हो ?’ भन्ने प्रश्नमा मुख्यमन्त्री शाहीले मिश्रित खालको जवाफ दिनुभयो । ‘राजनीतिक नेतृत्व नै पहिलो आवश्यकता हो, दोस्रो त कर्मचारीतन्त्र छँदैछ । तर अहिलेसम्म कुनै फाइल रोकिएको पनि छैन,’ उहाँले भन्नुभयो ।
मन्त्रिपरिषद मात्र नभइ मुख्यमन्त्री शाहीले आफ्नो सचिवालयलाई नै पूर्णता दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
उहाँले भन्रुभयो, ‘सल्लाहकार नराखेको कुरा राजश्व बचाएको हो, पहिला मन्त्रिमण्डल होस्, त्यसपछि मात्र सचिवालयलाई फुलफिल गर्ने मेरो सोच हो ।’ आफूले राजनीतिक सल्लाहकार लगायत अन्य विज्ञहरुलाई नराखेर प्रदेश सरकारको राजश्व बचाएको जस्तो लागेको उहाँको भनाइ छ । उहाँले बजेट कार्यान्वयनको सन्दर्भमा विगतकोभन्दा तीव्र गतिमा वृद्धि भइरहेको बताउनुभयो ।