जुम्ला । कर्णाली राजमार्गमा दुर्घटनाका संख्यामा वृद्धि हुँदै गएपछि सर्वत्र चासो र चिन्ता बढेको छ ।
चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा सडक दुर्घटना हुने गरेको छ ।
सडक दुर्घटनाका कारण जुम्लालगायत कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको छ । तर, पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन ।
उनका अनुसार सडक दुर्घटना कम गर्न निरन्तर अभियानहरू चलाइरहेको दाबी गर्छन् । तर, ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने जुम्लामा सडक दुर्घटनाबाट हरेक महिनामा औसतमा सात जनाको ज्यान जाने गर्छ ।
तर, यस्ता दुर्घटनाको कारणप्रति कसैले पनि खासै चासो नराखेको उनको तर्क छ । उनको बुझाइमा सडक दुर्घटनाका लागि यान्त्रिक गडबडीभन्दा मानवीय कमजोरी सबैभन्दा बढी जिम्मेवार देखिने गरेका छन् ।
सडक सुरक्षासम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण कर्णालीले सक्रिय रुपको ठूलो जनसंख्या गुमाइरहेको छ । जुम्ला सडक खण्डमा आर्थिक वर्ष २०७१/७२मा ६ वटा सवारी दुघर्टनामा २४ जनाको मुत्यु भएको छ भने ३४ जना गम्भीर घाइते भए ।
त्यस्तै २०७२/७३ सवारी दुर्घटनाबाट ६ जनाको मुत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालयको तथ्याङक छ । २०७३/७४मा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
२०७४/७५ मा १३ जनाको मृत्यु भयो भने २०७५÷७६ मा २५ वटा सवारी दुर्घटना ६ जनाको मृत्यु र नौ जना घाइते भए ।
२०७६/७७मा १५ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो भने सात जना घाइते भए ।
२०७७/७८ मा सवारी दुर्घटना ३२ वटा भएका छन् । जसबाट चार जनाको मृत्यु र ४० जना घाइते भए । चालु आर्थिक वर्षको हालसम्म सवारी दुघर्टनाबाट नौ जनाको मृत्यु भएको छ भने नौ जना नै घाइते भएका छन् । २०७१ सालदेखि हालसम्म सवारी दुर्घटनाबाट ७८ जनाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाले बताएको छ । त्यस्तै १२५ जना घाइते भएका छन ।
ट्रफिक कार्यालय कर्णाली प्रदेशका अनुसार २०६६/६७ देखि चालु आर्थिक वर्षको हालसम्म ४३२ वटा सवारी दुर्घटना भएका छन । उक्त दुर्घटनाबाट १५५ पुरुष, ३१ जना महिला, १० जना बालक र एक बालिका गरी १९७ जनाको मृत्यु भएको ट्रफिक कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए ।
यो तथ्याङक कर्णाली राजमार्गको दैलेख , कलिकोट र जुम्लाको मात्र भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक विमलकुमार रावतले बताए ।
उनका अनुसार सबैभन्दा दुर्घटना जुम्लाको कच्ची सडकमा हुने गरेको छ । कच्ची सडक त्यसैमा साँघुरो तीव्र गतिमा सवारी गुडाउने, सडकमा खाल्डो छल्न खोज्दा दुर्घटना हुने गरेको पाइन्छ ।
सडक सुरक्षाका लागि चालक सबै हिसाबले योग्य र जिम्मेवार हुनुपर्छ भन्ने मान्यतासहित यातायात व्यवस्था विभागले २०६९ सालमा ‘व्यावसायिक सवारी चालक अनुमतिपत्र सम्बन्धी नियमावली’ को मस्यौदा बनाएको थियो । तर, २०७१ सालमा मन्त्रिपरिषद्बाट पारित भएर लागू गर्ने तयारी क्रममै नियमावली थन्क्याइएको थियो ।
सडक सुरक्षाका लागि नगरी नहुने समयानुकूल नीतिगत व्यवस्थासहित सुरक्षाको प्रणाली बनाउने काम नै नहुँदा दिनानुदिन दुर्घटना बढिरहेका छन् । जसमा नागरिकहरूले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।