जनकपुरधाम । पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ ।
दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ ।
चिसोको कारण बिरामी हुनेको संख्या उच्च रहेको छ । प्रदेशिक अस्पताल जनकपुर र यहाँका निजी हस्पिटल तथा निजी क्लिनिकहरूमा बिरामी भएर आउनेको संख्या बढी देखिएको प्रदेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक केडी दासले बताए ।
उपचारका लागि चिसो कारण स्वास प्रस्वासमा समस्या भएका, हाड जोर्नी दुख्ने, रुघाखोकीलगायतका बिरामी बढी आउने गरेको उनले बताए । निजी क्लिनिकहरुमा चिसोले बिरामी भई आउने बालबालिकाको संख्या बढिरहेको छ । चिसोमा शारीरिक गतिविधि कम हुने भएकोले खानपिन बढी, तौल बढने लगायतका कारण रक्तचाप, र मधुमेहको जस्ता रोगको समस्या बढी हुने उहाँले बताउनुभयो ।
यसैबीच, अत्यधिक चिसो बढेपछि जनप्रतिनिहरुले ठाँउ ठाउँमा दाउरासमेत वितरण गरेका छन् । जनकपुरधाम उपहमनगरपालिका–१ एक वडा अध्यक्ष सत्रुधन साहले चिसो कारण वडाभित्र दाउरा वितरण गरेको बताउनुभयो । चिसो छल्न आगो ताप्ने क्रममा आधा दर्जनजति मानिस घाइते भएका मधेश प्रदेशका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरि, चिसो बढेपछि मधेश प्रदेश सरकारले गरिब विपन्नहरूलाई कम्बल वितरण गरेको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताउनुभयो । मन्त्री साहका अनुसार प्रदेश सरकारले पहिलो चरणमा दुई हजार १०० कम्बल वितरण भइसकेको छ भने दोस्रो चरणको लागि खरिद भइरहेको छ ।