क्षितिज बिश्वकर्मा
सर्लाही । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ ।
संक्रमित भएर उपचारका लागि बिरामी भर्ना भए उपचारका लागि सम्पूर्ण तयारी पूरा गरेकाे अस्पताल स्राेतले जनाएकाे हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको बताउनुभयो ।
अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको छ । डा झाका अनुसार अस्पतालको पुरानो भवनलाई कोभिड वार्डका रूपमा छुट्याइएको छ । अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल मलंगवामा पीसीआर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ । तर लक्षण देखिएका बिरामीले कोरोना संक्रमण परीक्षणमा बेवास्ता गरेकाले ल्याब सञ्चालन गर्न समस्या रहेको अस्पतालले जनाएको छ । परीक्षणमा बेवास्ता र सडक, बजारमा निस्कँदा मास्क नलगाउने, भीडभाड गर्नेजस्ता लापरवाही गर्नाले कोरोना संक्रमण भित्रभित्रै समुदायस्तरमै फैलिरहेकाले समयमै सचेत रहन डा झाले आग्रह गर्नुभएको छ ।
जिल्लामा अहिले कोरोना संक्रमितको संख्या ३६ जना छन् । सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख चन्दन झा लगाएतका ३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।