काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशासनले थप कडाइ गरेको छ ।
काठमाडौं उपत्यकामा शुक्रवारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले शुक्रबार राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार जोर गते जोर अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षीका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन ।
प्रशासनले सिट क्षमता भन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरेको छ ।
यस्तै चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनु पर्ने, सवारी साधनलाई दैनिक रूपमा निसङ्क्रमित गर्नु पर्ने,सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैया लिई मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिन पनि निर्देशन दिएको छ ।
लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउनुपर्ने निर्णय गरेको छ ।