काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले शुक्रबार राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्नेसहित विभिन्न निर्णय गरेको हो ।
बैठकले सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लव, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न रोक लगाइएको छ ।
शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा गर्ने पठन पाठनमा रोक लगाइएको छ । यस्तै तत्कालका लागि सबै किसिमका परीक्षाहरू गर्न पनि रोक लगाइएको छ ।
उपत्यकाभित्रका सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी जान रोक पनि लगाइएको छ । त्यसरी जान पनि पूर्ण खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने छ ।
प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिएर विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ । तर पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक चौथाइमा नबढ्ने गरी मात्र सञ्चालन गर्न पाइने छ । त्यसका लागि पनि पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरेको छ ।