काठमाडाैं । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री वितरण भइरहेको पाइएको छ। नक्कली मह उत्पादन गरी बिक्री वितरण गर्नेकाे उपत्यकाभर बिगबिगी नै रहेकाे खुलास भएकाे छ ।
महानगरीय अपराध महाशाखाको विषेश टोलीले काठमाडौंको ज्याठाबाट नतिजा प्याकेजिङका सञ्चालकलाई पक्राउ गरेपछि गुणस्तरहीन मह बिक्री वितरण हुने गरेको खुल्न आएको हो ।
महाशाखाको विषेश टोलीले सिन्धुपाल्चोक इन्द्रवती गाउपालिका वडा ६ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं २७ ज्याठा बस्दै आएका वर्ष ३८ का नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा पक्राउ गरेको हो ।
उनको साथबाट मह बनाउन प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, केमिकल र गुणस्तरहीन कच्चा महसमेत बरामद गरिएको छ ।
पक्राउ परेका नरबहादुर श्रेष्ठ विगत ७ वर्ष अगाडिदेखि श्रीमती रस्मीता श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी स्पर्स हनी नामको लेबल टाँसेर गुणस्तरहीन मह बनाइ बिक्री वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले गुणस्तरहीन मह काठमाडौं, भक्तपुर र पोखराका होटल रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गने गरेको पाइएको छ ।
गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रहरीले जनाएको छ ।