राधिका तामाङ
काठमाडाैं । विभिन्न कारणले घर परिवार छाेडी पुस माघको जाडो होस् या चैत बैशाखको गर्मी, दिनरात सडकमानै दिनहरु बिताउने सडक बालबालिकाकाे संख्या धेरै देखिन्छ । बालबालिकाहरु विभिन्न समस्याका कारण सडक जीवन बाँच्ने गरेको पाइन्छ ।
बिश्वमा सडक बालबालिकाहरुको संख्या एक सय ५० मिलियन रहेको अनुमान गरिएको छ । नेपालमा मात्र झन्डै ५ हजार सडक बालबालिका रहेका छन् । काठमाडौं उपत्यकामा १२ देखि १५ सय रहेको सर्वेक्षणहरुमा उल्लेख छ ।
सडक बालबालिका मध्ये बालिका अथवा किशाेरीहरू हत्या, हिसां, बलात्कार आदि रुपले असुरक्षित छन् । बालबालिकाहरु पारिवारिक हिंसा, साथीसंगत, सामाजिक, आर्थिक विपन्नता, अशिक्षा, बढ्दो सहरिकरण, बहुविवाह, द्वन्द्व आदिका कारण घरविहीन हुने गरेको सिविनका सहायक परियोजना प्रबन्धक विष्णु प्रसाद पौडेलले बताउनुभयो ।
सडकमा बालबालिका बढ्दै जानु भनेको पीडादायी कुरा र समाजका लागि बोझ र समस्या पनि हो । खुला आकाशमुनी पीडा, असुरक्षा र अभाव त छँदै छ त्यसको साथसाथै अनिश्चित भविष्य भने अझै कहालि लाग्दो छ । नेपालको संविधानमा बालबालिकाको हक अधिकार सम्बन्धी नीति नियम तयार गरिए अनुसार प्रभावकारी रुपमा कार्य हुन नसकेको खण्डमा बालबालिकाहरु आधारभुत अधिकारबाट पनि वञ्चित भइरहेका छन् । विभिन्न संघसस्था अथवा व्यक्तिगत सहयोगहरुबाट केही हदसम्म सकारात्मकता पाइए पनि समस्यको निर्मुलीकरण हुन सकेको छैन ।
कोरोनाको तेस्रो लहर शुरु भएयता नेपाल सरकारले सबै जनतालाई कोरोना विरुद्धको खोप लगाउन अपिल गरिरहेको छ । तर आफूसँग परिचय खुल्ने कुनै कागजात नहुँदा सडक बालबालिकाहरु खोपबाट बञ्चित भइरहेका छन् । खोप नलगाएको कारण संक्रमण फैलिन सक्ने भएकाले सम्बन्धित निकायको ध्यान सडक बालबालिकामा केन्द्रित हुनु पर्ने पौडेलको भनाइ छ ।
सम्बन्धित पक्षले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ । तपाई हाम्रै कारण आफ्नैै सन्ततिहरु कोभिडको कारण त बन्दै छैनन् ? सरकारको सम्मृद्रध नेपाल, सुखी नेपाली भन्ने नाराले सडक बालबालिकालाई गिज्यारहेकाे त छैन ? त्यसतर्फ गम्भीर भएर सोच्ने बेला आएको छ ।