काठमाडौं । अहिले जताततै कोभिड १९ को तेस्रो लहरको त्रास छ । संक्रमण दिनदिनै फैलिदै गएपछि भारत र नेपाल लगायत विश्वका धेरै देशहरुले स्वास्थ्य निर्देशिका कडाइका साथ लागू गरिएको छ । सामाजिक गतिविधिमा रोक लगाइएको छ । डिजिटल यो समयमा धेरै सेवा अहिले अनलाइनमा सीमित भएको छ ।
यसैबीच अहिले भारतको पश्चिम बंगालको एक युवा जोडी भने समाचारमा छाएका छन् । २४ जनवरी अर्थात आगामी सोमवार विवाह गर्न लागेका यी जोडी विवाहकै कारण चर्चामा छन् । पश्चिम बंगालको बुर्दवान जिल्ला निवासी सन्दीपन सरकार र अदिती दासको विवाह सोमवारका लागि तय भएको छ । उनीहरुका विवाहमा ३५० जना पाहुनालाई निम्ता गरिएको छ । तर त्यसमध्ये केही पाहुना मात्र भौतिक रुपमा विवाह समारोहमा उपस्थित हुन पाउनेछन् । बाँकी सबैजनालाई अनलाइन माध्यमबाट विवाह कार्यक्रममा सरिक हुन भनिएको छ । यसका लागि सरकार र दासले गुगल मिटको प्लेटफर्म प्रयोग गर्नेछन् । एकपटकमा २५० जना सहभागी हुनसक्ने गरि गुगल मिटको लिंक पठाइएको इन्डिया टुडेले समाचारमा लेखेको छ । विवाहमा भोज अर्थात खानपानको विशेष महत्व हुन्छ । त्यसैले अनलाइन मार्फत विवाहमा निम्ता गरिएका पाहुनाहरुलाई उनीहरुको घरमै भोजको खाना पुर्याउने व्यवस्था मिलाइएको छ । यसका लागि जोमाटो नामक अनलाइन फुड डेलिभरी कम्पनीलाई जिम्मा दिइएको समाचारमा उल्लेख छ ।
कोभिड संक्रमण भएपछि फुरेको आइडिया
विवाहको मिति टुङ्गो लागेपछि दु्लाह सन्दीपन आफैं कोभिड संक्रमित बने । उनी भन्छन्–'म ४ देखि १४ जनवरीसम्म कोभिड संक्रमित भएर अस्पताल भर्ना भएँ । मेरो हुनेवाला ससुरा पनि संक्रमित भएर अस्पताल भर्ना हुनुभयो । म मेरो विवाहमा आउने पाहुनाहरुले हामीले भोगेको जस्तो अवस्था भोग्न नपरोस् भन्ने चाहन्छु । यता पश्चिम बंगाल सरकारले पनि विवाहमा ५० देखि २ सयजनासम्म मात्र पाहुना सहभागी हुन पाउने निर्देशन जारी गरेको छ । यस्तो अवस्थामा विवाहको मिति नै सार्ने कि भन्ने पनि सोच्यौं । तर गत वर्ष पनि कोभिडकै कारण विवाह स्थगित भएकोले यसपटक नरोक्ने निर्णय गर्यौं । यहीबीच अनलाइन विवाह गर्ने आइडियो आयो ।'
सरकार र दासको अनलाइन विवाह समारोहमा पश्चिम बंगाल र बैगलोरका पाहुनाहरुलाई अनलाइन मार्फत सहभागी हुन निम्ता पठाइएको छ ।
'पहिले त हाम्रो योजना सुनेर पाहुनाहरुले हाँसेर उडाइदिने हुन् कि भन्ने चिन्ता थियो । तर पछि सबैजनाले हाम्रो आइडियालाई सह्राना गरिदिनुभयो । यसले हाम्रो विवाह समारोह अझ खास बन्ने विश्वास बढ्यो,' अदिती भन्छिन्, 'शुरुमा त आमा वुवाले नै मान्नु भएको थिएन । तर सबैजनाले बधाइ दिदै नयाँ आइडियाको प्रशंसा गर्न थालेपछि उहाँहरु पनि खुशी हुनुहुन्छ । अहिले त हामीलाई सबैतिरबाट बधाइको ओइरो लागेको छ ।'
भारतीय विवाहमा उपहार र दाइजो लिनु दिनु सामाजिक संस्कृति नै हो । सन्दीपन र अदितीले पनि यसलाई नकार्ने योजना बनाएका छैनन् । तर यस्ता उपहार र दाइजो पनि अनलाइन शपिङ मार्फत पठाइदिन उनीहरुको आग्रह छ । यसका लागि फ्लिपकार्ट र जी-पे जस्ता प्लेटफर्म प्रयोग गर्न उनीहरुले सुझाव दिएका छन् ।