काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । आज मात्रै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गुर्नभयो ।
काठमाडौँ महानगरपालिका वडा–७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गर्नुभएको हो । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाई अनि मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइका दुई ओटा पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिनुभयो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उहाँले भन्नुभयो, ‘स्थानीयको माग अनुसार चावहिल चोकमा यस अघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ । त्यो पुल निर्माणपछि अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि महानगरपालिकाले आज यो पुलको शिलान्यास गरेको हो ।’
उहाँले आजै मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिनुभयो । ‘चावहिल चोकमा मात्रै हामीले एउटा निर्माण सम्पन्न गरिसक्यौँ, थप एउटाको आज शिलान्यास गर्र्यौ । मित्रपार्कमा पनि आजै एउटा आकाशेपुलको शिलान्यास गरेका छौँ,’उहाँले भन्नुभयो, ‘जयवागेश्वरीको पुलको काम पनि अघि बढेको छ । यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारओटा पुल निर्माण गर्दैछौँ ।’
उहाँले सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने भएकाले बढी भिडभाड र दुर्घटना हुने स्थानमा पुल निर्माणको अभियान चलाएको जानकारी दिनुभयो । उहाँले स्थानीयवासीको सहयोग भयो भने आज शिलान्यास भएका दुई पुल पनि समयमै सम्पन्न हुनेमा आशावादी रहेको जानकारी दिनुभयो । ‘यो बाहेक पनि हामीले अन्य स्थानमा आकाशेपुल निर्माणको काम अघि बढाएको छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘माइतीघरमा हामीले निर्माण गरेको पुल अहिले सञ्चालनमा छ । अन्य ठाउँका लागि पनि हामीले ड्रोइङ–डिजाइनको काम गरिरहेका छौँ ।’
उहाँले केही ठाउँमा प्राविधिक समस्याका कारण कठिनाइ भएको बताउनभयो । ‘हामी छिटै यो काम अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘हामीले खोला तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशेपुल बनाउने योजना अघि बढाएका छौँ ।’
वडा–७ का अध्यक्ष शुद्ध डंगोलले चावहिल चोक जतिखेर पनि जाम भैरहने र भिडभाड पनि बढी हुने भएकाले यो स्थानमा आकाशेपुल निर्माण गरेको जानकारी दिनुभयो । उहाँले पनि पुल निर्माणसँगै सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा लिएको बताउनुभयो ।