सिमकोट । काठमाडौं उपत्यकाका आसपासका उच्च डाँडामा हरेक वर्ष हिउँदे वर्षासँगै हिउँपर्छ । चन्द्रागिरि र फूलचोकी लगायतका डाँडामा हिउँ परेको खबर पाउने बित्तिकै हिउँसँग रमाउने जानेहरुको उत्पात मेला लाग्छ । हिउँसँग लडिबुडी खेलेको फोटोले केही दिनसम्म सामाजिक सञ्जाल धपक्कै भरिन्छन् । हिउँ खोज्दै मकवानपुरको दामन, दोलखाको कालिञ्चोकसम्म पुग्नेको पनि कुनै कमी छैन । त्यो देख्दा यस्तो लाग्छ हिउँ पर्दा सबको मन रमाउँछ ।
हिमाली जिल्ला हुम्लामा पनि हरेक वर्ष हिउँ पर्छ । तर हुम्लीलाई त्यसरी परेको हिउँले खुशी दिदैन । अर्थात उनीहरुको मन हिउँसँग कति पनि रमाउदैन । बरु त्यसरी परेको हिउँले उनीहरुको जीवनमा कष्ट थपिदिन्छ, मनमा दिक्दारी थपिदिन्छ ।
हुम्लामा पछिल्लोपटक आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । यहाँ यो वर्ष चौथोपटक हिमपात भएको हो । यसरी निरन्तर परेको हिउँले यहाँको जनजीवन थप कष्टकर बनेको छ ।
सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ ।
हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ । चिसोले बृद्धबृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ ।
बाक्लो हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । हिमपातले पशुचौपायलाई चराउन थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घर छन् । यहाँका स्थानीयले चौरी, जुमा, झोपा, घोडा र लुलुगाई पाल्ने गर्छन् ।
अत्याधिक बढेको चिसोले सदरमुकाम सिमकोटमा एसईईको तयारीका लागि हिउँदे ट्युसन पढ्दै आएका विद्यार्थी थप मारमा परेका छन् ।
हिउँदमा विद्यालय बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीले ट्युसन पढ्दै आएका छन् ।