शिब बोहोरा
‘तपाईले मान्नुहुन्छ भने ढुङ्गा पनि देउताको रूपमा देखिन्छ, तपाईं मान्नु हुन्न भने बुद्धलाई पनि मान्छे देख्नु हुन्छ ।’ भनुको अर्थ यो समाजमा भएका कथित ठुला जातले दलितलाई कहिले पनि मानिसको व्यवहार गरेको हामी पाउदैनौँ । जात के हो ? जात केका लागि ? के बाहुन क्षेत्रीहरु साँच्चै उच्च जात हुन त ? के दमाई, कामी, सार्की, पोडे आदि तल्ला र अछुत जात हुन् ?
मान्छे मान्छे एउटै हो नि फरक किन को
सम थर छ सिप चल्छ पानी नचल्ने भो ।
हो यो गितलाई मैले धेरै सम्झीरहेको छु । सिपचल्न , रगतचल्ने यो समाजमापानीकिनचल्दैन यस्तै हजारौं प्रश्नहरु छन ?? तर प्रश्नहरुको उत्तर दिनकुनै व्यक्ति भेटे न कुनै समाज न त नेपाल सरकार नै ???
पश्चिम रुकुममा नबराज बिक लगायतका ६ जनाले जातीय विभेदको आधारम ाज्यान गुमाउनु परेको थियो । यो समाजमा नवराज र राजन जस्तै धेरै प्रेमीले जात कै कारण ज्यान गुमाउनु परेको छ । त्यसो त हामी २१औँ शताब्दीसम्म आइपुग्दा पनि जातीय संरचनाले अझै हामीलाई गाँजेको त छ नै, समाजमा रहेका कुप्रथा, कुसंस्कार, गलत परम्परा एवं राज्यको विभेदकारी नीतिले गर्दा दलित समुदाय विभेद एवं हिंसाको चपेटामा अझ परेको छ भन्दा अत्युक्ति नहोला ।
देशमा सामावेशी लोकतन्त्रमा आधारित गणतन्त्र छ । गाउँगाउँमा सिंहदरबार छन् । पटक पटक देशलाई जातीय छुवाछुत मुक्त भनेर घोषणा गरिएको छ । तर फेरि पनि यो वा त्यो बहानामा विभेदका घटना बढिरहेकै छन् । समाजमा जातपात र छुवाछूतको व्यवहार नभए कति जाति हुने थियो । के जातपात र छुवाछूतबाट मुक्ति पाउने कुनै उपाय छैन त ? जातका कारणबाट हामी जस्तै करोडौं दलित जनजातिमाथि परेको अन्याय बोध भए पछि हामीलाई यस्ता प्रश्नहरुले सताईरहेका छन् । तर मनका जिज्ञाशाको सही र वस्तुनिष्ठ जवाफ नपाउदा सधैँ निराश हुनु परेको छ । हाम्रो समाजमा प्रेम जस्तो पवित्र समबन्धहरू पनि समाजले निर्माण र निर्धारण गरेको छ ।
कोसँग प्रेम गर्ने भन्ने कुरा समेत समाजले हाम्रो मस्तिष्कलाई नियन्त्रित गरेको छ । जातको जगमा बनेको सामाजिक मनोविज्ञान र त्यसले निम्त्याएको विकृत सोचले प्रेम सम्बन्ध, अन्तरजातीय विवाह लगायतका कारण हत्या गरी न्याय नपाएका अजित मिजार, शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा, सविता नेपाली र नवराज विक मारिनु परेको छ । थाहा छैन यस्तो बर्बरता अझै कति देख्न भोग्न सुन्न पर्छ ? कानुनले सबैलाई बराबरी भनेको छ भन्दै प्रताडित भएर ज्यादती सहेर आस्तित हुँदै थाहा छैन स्वीकार्यता र निरीहतामा कति बाँच्नु पर्छ ?
मलाई लाग्छ, जातीय भेदभाव परेका सबैलाई यस्तै प्रश्नले सताउने गरेको छ । जुन समाजमा हामी जन्म्यौ हुक्यौं त्यही समाजले हामीलाई आज सम्मपनि अनेकौं जात र वर्णहरुमा विभाजन गरेको छ । जातपात र छुवाछूतको यातनाबाट सधँैका लागि मुक्त हुन चाहन्छौं हामी । तर मुक्ति कसले दिने, कसरी मुक्ति प्राप्त गर्ने ? यस्तै हजारौं प्रश्नहरु छन् ?
पश्चिम रुकुममा नबराज बिकले उपल्लो जातकि कथित मल्ल थर भएकी युवतीसँग प्रेम गरे कै भरमा आफनो र साथीहरुको ज्यान गुमाउनु परेको थियो । रुकुममा जस्तै बाग्लुङमा पनि त्यस्तै घटना घटेको छ । दलित, दलितमा पनि छुवाछुत, भेदभाव, अन्तर जातीय विवाह लगायतमा पनि विभेद भई रहेको छ । के जातको दलदलबाट हामीकहिले बाहिरा आउने ?
करिब २ महिना पहिले गलकोट नगरपालिका वडा ४ नुवाकोटमा घर नजिकै झुन्डिएको अवस्थामा राजन सुनारकोे शव फेला परेको थियो । उनले मर्नु भन्दा केही समय अगाडी रातिको १२ बजे आज सम्म धेरै माया गर्दिनु भयो सधैँका लागि बाइबाइ भनेर बिदा माग्दै आत्महत्या गरेका थिए।
उनको मृत्यु भएको ठिक २ महिना नबित्दै राजन सुनारकी प्रेमिकाले पनि झुन्डिएर आत्महत्या गरेकी छिन् । गलकोट नगरपालिका ३ बामिया किमीरा परियारले आफनो सामाजिक सञ्जाल टिकटकमा “तिमी पो फर्केर आउन सक्दैनौं म त तिमीसँग आउन सक्छु नि प्यारा” भनेर लेख्दै आफ्ना मृत प्रेमिको नाम लिँदै स्टाटस् लेखेर झुन्डिएर आत्महत्या गरेकी छिन् ।
राजन र मीरा त एउटा पात्रै मात्रै भएका छन् यस्तै घटना त नेपालमा दिनदिनै भइरहेका छन् ।
अन्तर्जातीया विवाह विद्रोह हो, लडाइँ हो । जसरी लडाइँमा योद्वाहरु मारिन्छन् त्यसरी नेपालमा अन्तर्जातीय प्रेमीहरु कथित उपल्लो–तल्लो जातसँग प्रेम गरेकै आधारमा मारिएका छन् । यसका कैयौं ज्वलन्त उदाहरण हाम्रै समाजमा घटेका छन् । रुकुम नरसंहार, जहाँ पाँच युवाको निर्मम तरिकाले हत्या गरिएको थियो । सेते दमाईं, अजित मिजारको हत्या भयो । केही महिनाअगाडि हुम्लाका चन्द्र कामी केटी पक्षबाट कुटपिट भएपछि केही दिन बेपत्ता भए । यी हत्या र बेपत्ताको मुख्य कारण भनेकै कथित दलितले उच्च जातकी युवतीसँग अन्तर्जातीय प्रेम र विवाह गर्नु नै थियो ।
के छ त जातीय छुवाछुतसम्बन्धी नेपालको संविधानमा ?
नेपालको संविधानअुसार छुवाछूत तथा भेदभाव विरुद्धको हक :
(१) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाती, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।
(२) कुनै वस्तु, सेवावा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातीको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन ।
(३) उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाती वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।
(५) यस धाराको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षति पूर्ति पाउने हक हुनेछ ।
दलितको हक : (१) राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिने छ । तर नेपालको संविधान अनुसार नेपाली समाजमा कुनै परिर्वतन आएको छैन ।
बाहुन क्षेत्रीबीच पनि छुवाछुत छ । जनजातीभित्र पनि ठूलो र सानो भन्ने छुवाछुत छ । यो सबै आफूले आफैं भित्रको कालो धब्बालाई हटाउन नसकेको कुसंस्कृतिहो । मेरो घर नजिकै समाजले तल्लो जात भनेर दवाइएका दुई वटा वर्ग छ । एउटा नेपाली÷दर्जी र अर्को सुनार÷विश्वकर्मा तर उनीहरूबीच नै छुवाछुत छ । दर्जी सुनारको घरमा पस्दैनन् । यो मानसिकता परिवर्तन नभएर गरिएको व्यवहार हो ।
रुकुम पश्चिम, बाग्लुङ जस्ता अन्य जिल्लामा रहेका जातीय अहंकारले निम्त्याएको बर्बरता एक प्रतिनिधिमुलक घटना हो ।
अन्त्यमा गैरदलित, दलित दुवैले जातीय छुवाछूत एवम् भेदभावलाई साझा समस्याको रुपमा हेर्नुपर्छ । जातीय छुवाछूत दलितको समस्या मात्र होइन भनेर बुझ्नु पर्छ । यस मानवता विरोधी कुसंस्कारलाई दलित र गैरदलित मिलेर कथित जात व्यवस्थाको अन्त्यका लागि चेतना, चेतावनी र कानुनी कारबाहीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । अनि मात्र समस्याको समाधान हुन्छ ।