सिमकोट । हुम्लाको ग्रामीण भेगका अधिकांश घरमा चिटिक्क परेका प्लास्टिकका घर बनाएको देख्न सकिन्छ । ती प्लास्टिकका घरले यहाँका ग्रामीण महिलाहरुलाई आर्थिक रुपमा समेत सबल बनाइरहेको छ । अर्थात यहाँका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ । बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले उनीहरूलाई आर्थिक रुपमा बलियो मात्रै होइन व्यस्त पनि बनाएको छ ।
प्लाष्टिक घरभित्र हरिया सागपात उत्पादनसँगै तरकारीका बिरुवाहरूसमेत उत्पादन गर्ने गरेको खार्पुनाथ गाउँपालिका छिर्पा गाउँकी अप्सरा हमालले बताइन । प्लास्टिकको घरभित्र उत्पादन भएको साग र अन्य तरकारी गाउँपालिकाको बजार क्षेत्रमा सहजै बिक्री हुने गरेको उनको भनाइ छ । खार्पुनाथ गाउँपालिका–४ को नल्ला र छिप्रा गाउँका ३० घरधुरीले प्लास्टिकको घरमा गोलभेँडा खेतीसहित अन्य तरकारी खेती गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको तरकारी सिमकोटमा बिक्री गर्दै आएका छन् । अप्सरा हमाल भन्छिन्, ‘एक मूठा साग नै ४० देखि ५० रुपैयाँसम्म बिक्री गरिरहेका छौं ।’ उनले दिनकै ८० देखि सय मुठासम्म साग बिक्री गर्ने गरेको बताइन ।
गुडनेवर्स इन्टरनेश्नलको आर्थिक सहयोग र स्नोल्यान्ड एकीकृत विकास केन्द्रको प्रविधिक सहयोगमा हुम्लाको छिर्पा गाउँमा परम्परागत खेतीको विकल्पमा आधुनिक शैलीमा तरकारी खेती सुरु भएको हो ।
खार्पुनाथ गाउँपालिका–४ का दुई गाउँमा मात्र होइन, छिमेकी गाउँपालिकामा समेत प्लाष्टिक घरमा व्यवसायिक रुपमा तरकारी उत्पादन र बिक्री हुन थालेको छ । घरघरमै प्लाष्टिक घर बनाएर तरकारी खेती गरेपछि तरकारीमा आत्मनिर्भर मात्रै होइन आर्थिक रुपमा पनि सबल भएको उनीहरू बताउँछन् ।
हुम्ला जस्तो अत्याधिक चिसो भेगमा प्लास्टिक घर किसानका लागि वरदान सावित भएको छ । उनीहरूलाई प्लास्टिक घरले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गरेको छ । सिंचाई सुविधा कम भएका ठाउँमा पनि सजिलै खेती गर्न सकिने भएकाले किसानहरूले थोरै क्षेत्रफलबाटै धेरै आम्दानी लिइरहेका छन् । एक सिजनमै ६० हजार रुपैयाँसम्म कमाइ गरेको सिमकोट गाउँपालिका–२ ठेहेका कर्ण बोहराले बताए । तरकारी बिक्रीबाटै घरको नुन, तेल, साबुन पुर्याउनुका साथै बालबालिकालाई स्टेशनरीका सामग्री किन्न सहयोग पुगेको उनले बताए ।
हुम्लाका किसानहरूलाई प्लास्टिकको घरले सबल बनाइरहेको बताउँछन् स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कृषि जेटिए जंग शाही । किसानहरूका लागि परम्परागत खेतीको विकल्प बनिरहेको उनको भनाइ छ । किसानहरूलाई बेमैसमी तरकारी खेतीमा यसले निकै सहयोग गरेको उनी बताउँछन् ।
(न्यूज कारखानकालागि सुरेश परियारको रिपोर्ट)