विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा मतदान जारी छ । ३ बजेसम्म मतदान गर्ने समय तोकिएका कारण मत परिणाम पनि आजै आउने निर्वाचन कार्यालयले जनाएको छ ।
‘कुनै खालको बाधा अवरोध नभए मतदान सकिएको चार घण्टाभित्रमा मतपरिणाम आइसक्छ,’ प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले भन्नुभयाे, ‘करिब ११ सय मतपत्र गन्नुपर्ने भएकोले केही ढिला हुने भएको हो ।’ निर्वाचन कार्यालयले खुलातर्फ, महिलातर्फ र अल्पसंख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ । मतदान पनि सोही अनुसार भएको हो ।
प्रदेश सभाका ९२ जना र स्थानीय तहका २ सय ७२ जनाले मतदान गर्नेछन् । मतगणना प्रदेश निर्वाचन कार्यालयमै हुनेछ । प्रदेश सभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान भएको छ ।
प्रदेशमा तीन पदका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा आठ जना चुनावी मैदानमा छन्। सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनाबी मैदानमा छन् ।
यस्तै, नेकपा एमालेका तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी छ । राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन ।
प्रदेश १ मा खुल्ला, महिला र अल्पसंख्यकरअपांगतातर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुने स्थानको लागि निर्वाचन भएको हो ।