विजयकुमार बौडेल
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले केपी ओलीको प्रतिगमनसँग लड्दै लड्दै अहिलेको अवस्थामा आउनु नेपाली जनताको जीत भएको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धन पाल्पाले आयोजना गरेकाे बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बाेल्दै गठबन्धनकाे तर्फबाट विजयी हुनुभएकी राष्ट्रियसभा सदस्य गैरेले २०३६ सालदेखि इमान्दार तरिकाले राजनीति गरिरहेको योद्धालाई नेकपा एमालेले सम्हाल्न नसकेको बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले संवेदनशील समयमा पाल्पाले नेतृत्व पाएको बताउनुभयो । घिमिरेले गठबन्धनको जिम्मेवारी गणतन्त्रलाई जोगाउने र संस्थागत गर्ने भएको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्टले गठबन्धन टिकाउने हो भने तल्लो तहबाटै क्रमगत रुपमा निर्णय गर्नुपर्ने भन्दै माथिल्लो तहबाट निर्णय लाद्ने काम स्वीकार्य नहुने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद यादवबहादुर रायमाझीले बाहिरी राजनीतिमा र संसदमा भित्र छिरिसकेपछि हुने राजनीति फरक रहने भन्दै अनुशासन पूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य विधान श्रेष्ठले राजनीतिमा थकान भन्ने शब्द नहुने भन्दै विचार र मुद्दा मिल्दासम्म गठबन्धनले नै देशको निकास दिने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले एक पटकको कामले सधैँभरी प्रतिगमन नभईरहने भन्दै गर्दै जाने कामले त्यसको मुल्यांकन गर्ने बताउनुभयो । दर्लामीले गठबन्धनका तर्फबाट सिंगो देशका नागरिकले सुखद् अनुभूति गर्न सकुन भन्ने अपेक्षा रहेको बताउनुभयो ।