हस्त चाैलागाँई
कालिकोट । जिल्लाकाे शुभकालिका गाउपालिका ओधोगिक ग्राम बन्ने एक मात्र पालिकामा परेकाे छ । नेपाल सरकार उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षका लागि ओधोगिक ग्राम बन्ने नगर तथा गाउँपालिका मध्येमा शुभकालिका गाउँपालिका कालिकोटलाई छनाेट गरेको हाे ।
देशभरबाट ४ वटा नगरपालिका र २ वटा गाउँपालिका मात्रै छनौट सूचीमा परेकोमा कर्णाली प्रदेशका १० जिल्ला भरीमा कालिकोटको शुभकालिका गाउँपालिका मात्रै छनौटमा परेको हो ।
मन्त्रालयका अनुसार छनौटमा पर्ने स्थानीय तहहरुमा शुभकालिका गाउँपालिकाको साथै महालक्ष्मी नगरपालिका धनकुटा, निलकण्ठ नगरपालिका धादिङ, पाणिनी गाउँ पालिका अर्घाखाँची, दीपायल सिलगढी नगरपालिका डोटी छनौटमा परेका छन् ।
छनाेटमा परेका स्थानीय तहहरुले ओधोगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख बजेटमा कार्य सम्झौता गरी ओधोगिक क्षेत्र पूर्वाधार सुरुवात गर्नुपर्ने भएको छ । शुभकालिका गाउँपालिका छनौटमा परेको कारण समय सीमाभित्रै सम्झौता गरी नमूना कार्यको रुपमा ओधोगिक क्षेत्र पूर्वाधार विकास गरिने गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी गराए ।
कालिकोट जिल्लाका सन्दर्भमा ९ वटै स्थानीय तह मध्ये संघ प्रदेशबाट आउने अनुदान बजेट मात्रै नभई अन्य संघ संस्था तथा दातृ निकायसँग पहल गर्दै पूर्वाधार विकासका साथै सामाजिक परिवर्तनका लागि अग्रसरता देखाउनमा शुभकालिका गाउँपालिका अगाडि रहेको देखिन्छ ।
शुभकालिका गाउँपालिकामा स्थानीय तहको निर्वाचन भइरहँदा शेरीघाट/हुल्मदेखि अगाडि बढ्नै नसकेको गाडी रोड हाल शुभकालिका वडा- ३ भर्ताको पर्जैसम्म पुगेर गाडी समेत सञ्चालनमा छन् ।
यसैगरी दैलेखदेखि ब्याउली हुँदै निर्माण भएको सडक पनि हाउडी हुँदै शुभकालिका –८ को घट्टेखेतमा पुगिसकेको र अब केही दिनमा साविक मुग्राहासम्म गाडी सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले बताईन् । हाल हाउडी लेकमा हिमपातले सडक अवरुद्ध छ ।
शुभकालिकामा यसैगरी शेरी–काली–भर्तागाड हुँदै चौलागाईंबाडा सडक शुभकालिका–५ उधोगाउँ पुगेको वडा अध्यक्ष केशन शाहीले बताए । शुभकालिकाले खानेपानीको क्षेत्रमा ८ वटा बृहत् खानेपानी योजनामार्फत १ घर १ धाराको कार्यक्रम लागू गरी गाउँपालिकाका सबै घरमा धारा पुर्याउने काम यो वर्षभित्रै पूरा गरिसक्ने लक्ष्यका साथ कार्य गरिरहेको बताइएको छ ।
यस्तै, करोडौं लगानीमा अलपत्र परेका भलेटागाड र हाउडीगाड विद्युत योजना सञ्चालनमा ल्याई गाउँनै झलमल्ल पार्नुका साथै वडा नम्बर १, २, ३ भर्ता गाउँमा राष्ट्रिय प्रशारण लाइन विस्तार भइ केही दिन मै बत्ती बल्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडा नम्बर–४ को राराकाटीयामा १ सय ५० किलोवाटको सोलार मिनिग्रेड समेत निर्माण गरी बत्ती बाल्ने अन्तिम तयारीमा पुगेको बताइएको छ ।
यस्तै, शैक्षिक क्षेत्रतर्फ प्रबिधि मैत्री शिक्षाको व्यवस्था गरी पालिका भरका २९ वटा विद्यालयमा प्रोजेक्टरबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । यसका साथै सुनौला हजार दिनका गर्भवती आमाहरुलाई सो अवधिमा ६ क्यारेट अण्डा, घ्यू, मह दिने व्यवस्थासहित पोषणमैत्री गाउँपालिका कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष खडानन्द चाैलागाँईले बताए ।