म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो ।
आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिनुभयो । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उहाँले भन्नुभयो, “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न शुरु गर्छौं ।”
तीन हजार ६ सय मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४ सय मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताउनुभयो ।
कूल तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।
विद्युतगृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताउनुभयो ।
यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।
राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो।