विजयकुमार बौडेल
पाल्पा । जिल्लामा कृयाशिल नेकपा एमाले सम्बद्ध विभिन्न जनवर्गीय संगठनहरुले जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
पाल्पाको चुनढुङ्गा र प्राकृतिक सम्पदाहरुको प्रयोग र उपभोगमा अनियमियता र अपारदर्शी ढंगबाट दोहन भइरहेको, बुटबल–तानसेन खण्ड अन्तर्गत सिद्धबाबा खण्डमा निर्माण हुने सुरुङ मार्ग र सिद्धार्थ राजमार्ग स्तरबृद्धिमा हुन गइरहेको विलम्वलगाएतका विषयमा ध्यानाकर्षण गराईएको हो ।
गठबन्धन सरकारले जनतालाई निराश बनाउने काम गरेको र मुलुक अहिले गम्भीर संकटमा गुज्रिरहेको भन्दै जिल्लाका समसामयिक विषयहरु समेतका विषयहरुमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट सडक निर्माण गर्दा समेत सरकारले चासो नदेखाएको, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न माग, पेट्रोलियम पदार्थसहित आधारभूत उपभोग्य बस्तुको मूल्य वृद्धि र बजारमा कृतिम अभाव देखिन थालेको, कोभिड विरुद्धको खोपको बुस्टर डोज पर्याप्त व्यवस्था गर्नुपर्ने लगाएतका विषयमा ध्यानाकर्षण गराईएको छ ।
ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले कोरोना परीक्षणको दायरा बढाउन र कोरोना नियन्त्रणका प्रभावकारी उपायहरु अवलम्बन गर्न, बजारमा सिटामोलको समेत अभाव हुनु, औषधिजन्य बस्तुहहरुको कृतिम अभाव र चर्को मूल्यका कारण जनताको जनजीवन कष्टकर बन्दै गइरहेको बताउनुभयो ।
युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, मुक्ति समाज, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, जिफन्ट, पेशागत महासंघ, मगर संघ, भुपु सैनिक तथा प्रहरी महासंघका प्रतिनिधिले निमित्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।