बुटवल । नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् ।
रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।
अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, प्रेस चौतारी नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल ट्रेड युनियन ९जिफन्ट०, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल खेलकुद महासंघ, नेपाल भूमिहिन सुकुम्बासी संगठन, नेपाल भुपु सैनिक तथा प्रहरी संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक मधेशी संगठन, पेसागत महासंघ नेपाल, नेपाल बुद्धिजिवी परिषद्, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन, मानव अधिकार एलायन्स, प्रगतिशिल कानुन व्यवसायी संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुपन्देहीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति घोषणाको माग गरेका हुन् ।
उनीहरुले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले कुनै पनि बाहनामा संविधानविपरीत निर्वाचनको मिति सार्न नहुने माग ज्ञापनपत्रमा उल्लेख गरिएको बताए ।
संविधानको धारा २२५ ले स्थानीय तहको निर्वाचनपश्चात गाउँ र नगरसभा गठनका लागि समय लाग्छ भनेर छ महिनाभित्र गाउँरनगर सभा निर्वाचन भनेकोले धारा २२५ को अपव्याख्या गरी स्थानीय तहको निर्वाचन सार्न नमिल्ने उनले बताए ।
पाँचवर्षे कार्यकाल पूरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नभए आगामी ५ जेठपछि ७५३ वटा स्थानीय सरकारले वैशाखपछि कार्यअवधि सकिने र शून्यता आउने ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने बताए ।