काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै मंगलवार बिहान प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको फेकोफनका सचिव ठाकुर भण्डारीले बताउनुभयो ।
नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत छन् ।
मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा बन्द गर’, ‘जिल्ला वन पैदावार आपूर्ति समिति खारेज गर’, ‘वन्यजन्तु आतंक नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।