धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्न थालेको छ ।
पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा संक्रमण दर घटेको देखिए पनि पछिल्लो समय कोरोनाको जोखिम झनै उच्च रहेको सुदूपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा जगदिश जोशीले बताउनुभयो । अहिले घरघरमै कोरोन जस्तै लक्षण भएका बिरामी देखिए पनि अस्पतालमा परीक्षण गराउन आउनेको संख्या भने न्यून रहेको उहाँले बताउनुभयो । यस कारण संक्रमण दर केही घटेको देखिए पनि जोखिम उच्च रहेकोले सबैले सावधानी अपनाउनु जरुरी रहेको उहाँको भनाइ छ ।
भारतबाट आउने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा संक्रमण दर उस्तै रहेको भए पनि समुदाय स्तरबाट कोरोना परीक्षण गराउने दर घटेका कारण कोरोना संक्रमण दर घटेको जस्तो देखिएको निर्देशक जोशीले बताउनुभयो । तर, कोराना परीक्षण गराउन अस्पताल आउनेमध्ये ६० प्रतिशत बढीमा संक्रमण पुष्टि हुने गरेको उहाँले जानकारी दिनुभयो । त्यसैले तथ्यांकमा घटेको देखेर खुशी हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
भारतमा कोरोनाको जोखिम अझै पनि उच्च भएका कारण सुदूरपश्चिममा कोरोनाको जोखिम कम छ भन्न नमिल्ने प्रदेश स्वास्थ्य निर्देशक जोशीले बताउनुभयो ।
उहाँले कोरोनाको जस्तो लक्षण देखिएमा सबैलाई स्वास्थ्य संस्थामा गएर अनिवार्य स्वास्थ्य परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीले पछिल्लो एक साताको अवधिमा सार्वजनिक गरेको कोरोना संक्रमण दरको तथ्यांकअनुसार ११ माघमा सुदूरपश्चिममा सबैभन्दा बढी ६५२ जनामा संक्रमण देखिएको थियो । त्यसपछि भने संक्रमण दर निरन्तर घट्दो क्रममा छ । ११ माघमा एक हजार ९७३ जनाको स्वास्थ्य परीक्षण गर्दा ६५२ जनामा संक्रमण देखिएको थियो । १२ माघमा एक हजार ८ ५० जनाको स्वाव परीक्षण गर्दा ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार १३ माघमा एक हजार ९१३ जनाको स्वास्थ्य परीक्षण गर्दा ५५८ जना र १४ माघमा ४८६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ माघमा २६९ जनामा कोरोना संक्रमण पुष्टि भएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी १६ माघमा ३३६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सोमबार भने पुनः संक्रमण दर बढेर ४१३ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार प्रदेशका एक हजार ४४८ जनाको स्वास्थ्य परीक्षण गर्दा ४१३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिममा एक साताको अवधिमा तीन जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १३ माघमा कैलालीका एक जनाको र १४ माघमा कैलाली तथा कञ्चनपुरका एक एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
सोमबारसम्म सुदूरपश्चिममा ५७ हजार ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५३ हजार ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
सोमबारसम्म सुदूरपश्चिममा चार हजार ६९८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सोमबारसम्मको प्रदेशको संक्रमित तथ्यांक
कैलालीः२५०२
कञ्चनपुरः १०८२ जनामा सक्रिय संक्रमित छन् ।
डोटीमाः २७९
दार्चुलाः ८६,
डडेल्धुराकाः४८,
बाजुराः२३१
बझाङः१४१
बैतडीः२०२
अछामः १३१