क्षितिज बिश्वकर्मा
सर्लाही । मोटरसाईकल चोरी गरेको १० दिनपछि सर्लाही प्रहरीले मोटरसाईकलसहित लालबन्दीका ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ५ बस्ने २९ वर्षीय सुर्यदिप चौधरी, १९ वर्षका रुपेश माँझी मुसहर र वडा नम्बर १५ का २९ वर्षीय सोमबहादुर रेग्मी रहेका छन् । उनीहरुलाई वडा नम्बर ५ स्थित मेजरगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पक्राउ परेका ३ जना मध्येका वडा नम्बर १५ सतभैयाका सोमबहादुर मगरले भने अन्य २ ले चोरी गरी ल्याएको मोटरसाईकल खरिद गरेका बुझिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने मगरलाई आफ्नै मोटरसाईकल हो, अहिले पैसाको खाँचो परेकाले बेच्न लागेको भन्दै पक्राउ परेका २ जनाले सस्तोमा मोटरसाईल बेचेका थिए ।
केही समयपछि पास गरिदिन्छु भनेपछि सस्तोमै मोटरसाइकल भेटियो भन्दै किनेका मगरलाई पनि प्रहरीले चोरीमै संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर निर्मल थापाका अनुसार सस्तोमा मोटरसाइकल पाईयो भन्दै लोभमा परी चोरीको मोटरसाइकल किन्नेलाई पनि कानुनले चोरीमा संलग्न भएको मान्ने भएकाले पक्राउ गरिएको बताउनुभएको छ । उनीहरुले यही माघको गएको ७ गत्ते मध्यरात लालबन्दी ५ का ज्ञानबहादुर क्षेत्रीको घरको बरण्डामा राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको कालो रातो रंगको १२५ सिसीको होण्डा साईन मोटरसाइकल चोरी गरेका थिए ।
मोटरसाइकल चोरीमा संलग्नहरुलाई सोमवार बेलुकी ५ बजेको समयमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधवप्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।
यता सोमबहादुर रेग्मी पक्राउ परेपछि लालबन्दी नगरका कर्मचारी र मगरको परिवारले बिमत्ति राख्दै विरोध गरिरहेका छन् । उनीहरुले चोरीको मोटरसाइकल हो भन्ने थाहा नपाएर मोटरसाइकल किनेका रेग्मीलाई फसाउने नियतले प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भन्दै सार्वजनिक गरेको भन्दै विरोध गरेका हुन् ।