'घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल
छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल
घट्दै सन्तति लोपाेउन्मुख हुने पीडा छ छातीभरि
चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी'
-वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरीबाट
गण्डकी । तालैतालको बगैँचा शहर लेखनाथका खास्टे, दिपाङ र न्युरेनीमा विगतमा जस्तो जलचरा अहिले देख्न पाइन्न । विश्वसम्पदा सूचीमा सूचीकृत ती ताल वरपर रहेका सिमसार क्षेत्र सङ्कटमा पर्दै गएपछि त्यहाँका चरा गुँदेतालतिर सरेका छन् ।सिमसार क्षेत्र सङ्कटमा पर्दै गएपछि वर्षेनी जलचराको सङ्ख्या घट्दै गएको छ । पोखराकै जलचरा पर्याप्त पाइने फेवातालमा पनि वर्षेनी जलचराको सङ्ख्या घट्दो छ । फेवातालको सिमसार क्षेत्रको जग्गाको झण्डै ९५ प्रतिशत व्यक्तिका नाममा भएका कारण पनि सिमसार लोप हुने अवस्थामा पुगिरहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुहुन्छ।
पोखरामा हालै गरिएको जलपक्षी गणनाबाट पनि सिमसार क्षेत्र जोखिममा पर्दै जाँदा चराको बासस्थान नै परिवर्तन हुन थालेको पाइएको हो । नेपालमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा जलपक्षी गणना गरिँदै आएको छ । सन् २००४ देखि कास्कीको पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको घिमिरेले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गरिन्छ । चराको बासस्थान सिमसार क्षेत्रका संरक्षणमा स्थानीय चासो पुगोस् भन्ने उद्देश्यका साथ स्थानीयवासीका साथै जनप्रतिनिधिसमेतलाई आमन्त्रण गरिएको थियो । यस वर्ष पुस १७ – माघ ५ (जनवरी १–१९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागमा जलचराको गणना गरिएको गणनाका क्षेत्रीय प्रतिनिधि घिमिरेले जानकारी दिनुभयो ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनका अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना शुरु गरिएको थियो । पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पक्षी संरक्षण सङ्घ पोखरा र पोखरा पक्षी समाजका संलग्नतामा जलचरा गणना हुँदै छ ।
पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिएको थियो । हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका जलचरा अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका देखिएको छ ।
पछिल्ला वर्षमा ताल संरक्षणका नाममा जथाभाबी बाँध निर्माण गर्ने क्रमले पनि सिमसार क्षेत्र सङ्कटमा परिरहेको सरोकार पक्ष बताउँछ । लेखनाथको मैदी तालमा बाँध तयार भएसँगै धान खेत मात्रै बाँकी रहेको र सिमसार क्षेत्र प्रभावित भएको देखिएको छ । रुपातालमा पनि बाँध बन्ने क्रममा रहेको र त्यसले सिमसार क्षेत्र पुर्ने देखिएको घिमिरेले बताउनुभयो ।
पछिल्ला वर्ष चराको संरक्षणका लागि विभिन्न पहल भएका छन् । संस्थागत रुपमा सरकारले नै लाटोकोसेरो, गिद्ध, डाँफे आदि चराको संरक्षणका लागि गुरुयोजना तयार गरी काम अघि बढाइएको छ ।
विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइने गरेको छ । नेपालमा पाइने सबै प्रजाति पोखरामा पनि पाइन्छ।
पोखरा पक्षी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासमा आफ्नो लामो समयको चरा अध्ययनलाई समेटेर सचित्र पुस्तक ल्याउनुभएको छ । अङ्ग्रेजी भाषामा लिखित १४० पृष्ठमा समेटिएको पुस्तकमा पोखरा उपत्यकाको नक्सासहित यहाँका चरा हेर्न सकिने मुख्य तालतलैया तथा स्थानविशेषको चर्चा गरिएको छ । चरा प्रेमीहरूका लागि पाेखरा र समग्र गण्डकी क्षेत्र नै पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएकाे छ ।
नेपालमै मात्रै पाइने ‘काँडेभ्याकुर’ पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिन्छ । पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइन्छन् । धेरै मांसाहारी चरा पाइने भएकाले पोखरालाई मासांहारी चराको राजधानीका रुपमा समेत लिने गरिएको छ ।
पोखराका तालतलैया, फेवाताल किनारस्थित कोमागाने पार्क, वसुन्धरा पार्क, फेवातालपारिको रानीवन आदि पर्याप्त चरा पाइने स्थान हुन् । संरक्षणका अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछालगायत जलचरमा कमीजस्ता कारणले चरा घटेको छ ।
सुन, डङ्गर, सेतोलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी बाज, बौडाई, कालो चिल, काकाकुल, सिक्रा, वनबाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बीउकुहियो, लेकाली उलुक, कटुसटाउके मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे, काठफोर, लटुुसक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरालगायत प्रजातिका चरा भेटिएका छन् ।
संरक्षणका क्षेत्रमा क्रियाशील ‘प्रकृतिका साथीहरू’का आयोजनामा सहस्राब्दी पदमार्गको राङभाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुँचिल उत्सव पनि गरिएको थियो ।
त्यस्तै, संस्थाले उक्त क्षेत्रमा हालै जाडाका समयमा गरेको पर्यावरणीय अध्ययनबाट १७२ प्रजातिका चरा र ५५ प्रजातिका पुतली फेला पारेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले जानकारी दिनुभयो । आउँदो गर्मीमा पनि चरा अध्ययन गरिने बताइएको छ ।