धनुषा । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने भएको छ ।
रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि सञ्चालन हुन नसकेको रेल सेवा यही फेब्रुअरी तेस्रो साताबाट सञ्चालनमा आउने भएको छ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल चलाउन सबै तयारी पूरा भएको उहाँले बताउनुभयो ।
दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ।
अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको उहाँले बताउनुभयो ।
रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिने उहाँको भनाइ छ ।
उहाँका अनुसार रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म सामान्य सिटमा रु ७० र एसी सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ।
२०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ।