काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिनुभयो ।
उहाँले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरूदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले संवैधानिक अङ्गहरूले बुझाएका प्रतिवेदनहरूमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसद्मा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रपति भण्डारीले संसद्मा सांसदले बोलेका कुराहरूको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरूका बारेमा जानकारी राख्न सक्ने र यसले संसदप्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गर्नुभयो । समारोहमा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा लुम्बिनीका किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु राष्ट्रपतिलाई उपहार प्रदान गरिएको थियो ।
सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको कूल १७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गरेका १० व्यक्तित्वका लेखहरू समावेश छन् । पुस्तकमा समिति प्रणालीको विकास र अन्तर्राष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्टेलिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ ।