लमजुङ । जिल्लामा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।
प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।
त्यस्तै विसं २०७६ मा नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने विसं २०७५ मा पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य रु ८५० देखि ९०० सम्म रहेपनि किसानले एक हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष रु एक करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडाैं, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा समेत राम्रो खपत हुँदै आएको छ । बेँसीसहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गत वर्ष ९६ क्विन्टल मह उत्पादन गर्नुभएको थियो । तर यस वर्ष असोज महिनामा बढी वर्षा भएका कारण जम्मा पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ ।
नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका उपाध्यक्ष तथा सुन्दरबजार नगरपालिका–११ का दुव्र दुराले पनि सोचेकोभन्दा कम मह उत्पादन गर्नुभएको छ ।
नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् ।
जिल्लाको मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका–४, ५ र ६, सुन्दरबजार नगरपालिका–५ र बेँसीसहर नगरपालिका–२ लाई मौरी पकेट क्षेत्रका रुपमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।