काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद आज विस्तार हुने भएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको छ । मन्त्रीका आकांक्षी धेरै भएपछि सात मन्त्रालय रहेको प्रदेश १ मा मन्त्रालयको संख्या १३ पुरेयाइएको छ । मुख्यमन्त्री राईले सत्तारूढ दलहरूबाट मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्री बन्ने भएका छन् ।
यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।
एकीकृत समाजवादीबाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा रहनुभएको छ ।
नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लाग्नुभएको छ ।
जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एक एकजना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए।
सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।
प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् । तर नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।
आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ।
‘
गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।