काठमाडौं। जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भएको छ ।
कर्णाली प्रदेश सरकारले हिउँमा फसेकाको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी गरेको हो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेकाहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लाग्नुभएको हो । मुख्यमन्त्री शाहीले हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन लागेको जानकारी दिनुभयो ।
हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको बताउदै उहाँले भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी भैरहेको जानकारी दिनुभयो ।
तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँमा चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर जाने तयारी भएको उहाँले बताउनुभयो ।
स्थानीयवासीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन्।
सेतक चिनी (खिरौंला) संकलन गर्न गएकाहरु भारी हिमपतापछि फसेका हुन् । बुहारी जैकुवाँरा शाही र तातोपानी–७ बाह्रगाउँका मुनबहादुर रावतको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका व्यक्तिका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जोहो गरिएको तर हेलिकप्टरबिना खाद्य सामगी त्यहाँ पुर्याउन असम्भव भएको बताउनुभयो ।