काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले कोरोनाकालमा कार्यसम्पादनमा खट्ने कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।
कम्पनीको दशौं स्थापना दिवसको अवसरमा आइतवार आयोजित विशेष कार्यक्रमकाबीच ५० जनाभन्दा बढी पत्रकार, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई नगद तथा कदरपत्रसहित सम्मानित गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि मिडिया एलाइन्स नेपालका अध्यक्ष तथा एभिन्यूज टेलिभिजनका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकरले कोरोना संक्रमणका कारण नेपालको मिडिया क्षेत्र प्रभावित भए पनि आशावादी पनि रहेको बताउनुभयो । तर राज्यको स्पष्ट नीतिको अभावमा नेपाली मिडिया उपेक्षित अवस्थामा रहेको उहाँको गुनासो थियो ।
केही मिडियाकर्मी आफैं आफू कार्यरत क्षेत्रप्रति इमान्दार बन्न नसक्दा नेपाली मिडियाको साख घट्दै गएको अध्यक्ष राजकर्णिकरणको भनाइ थियो ।
सो अवसरमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजयकुमार पौडेलले कोरोनाका कारण विश्वकै अर्थतन्त्रमा गम्भीर प्रभाव पारिरहेको अवस्थामा समेत जनपक्षीय आवाज र जनचाहना बमोजिमका विषय सामाग्री सम्प्रेण गर्न जनताका सबै अंगहरु प्रतिवद्द रहेको बताउनुभयो । कम्पनीका हरेक अप्ठ्यारा र सम्भावनालाई अपनत्व ग्रहण गरेर काम गर्ने कर्मचारीहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट हाल जनता टेलिभिजन, रेडियो जनता ८९.१, जनता समाचार डट कम, जनता बुक्स (जनता सञ्चार प्रालि) र जनता डबली सञ्चालनमा रहेका छन् ।
करिब १४ सय बढी शेयरहोल्डर रहेको जनता दक्षिण एसियाकै पहिलो सामुदायिक पब्लिक लिमिटेड सञ्चार संस्था हो । यस्तै जनता टेलिभिजन विश्व टेलिभिजन महासंघको नेपालबाट एक्लो सदस्य टेलिभिजन पनि हो ।