काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिमार्जन बिना एमसिसी पारित गर्न नहुनेमा आफ्नो पार्टी दृढ रहेको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष दाहालको सचिवालयले आइतबार साँझ प्रष्टीकरण जारी गर्दै एमसिसीलाई साढे चार महिनाअघि लेखेको पत्रबारे बढी उछाल गर्नुपर्ने कुनै आवश्यकता नरहेको जिकिर गरेको हो ।
‘वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ छैन,’ प्रष्टीकरणमा भनिएको छ, ‘हामीले देश र जनताको हितलाई सर्वोपरी ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं।’
प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा एमसिसी पारित गर्नुपर्ने दबाब भएको हुँदा उक्त पत्र लेखिएको अध्यक्ष दाहालको सचिवालयको जिकिर छ।
तत्कालीन अवस्थामा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको प्रष्टीकरणमा उल्लेख छ । पत्रमा एमसिसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको सचिवालयको प्रष्टिकरण छ ।
गत असोज १३ मा देउवा र प्रचण्डले एमसिसीलाई पठाएको पत्रमा सम्झौता पारित गर्न आफूहरूलाई चारपाँच महिनाको समय दिन अनुरोध गरिएको थियो। सोही पत्रमा देउवा र दाहालले एमसिसी पारित हुने वातावरण बनाउन आफूहरूले विभिन्न काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।
देउवा र दाहालले मागेको पाँच महिनाको समय फेब्रुअरी २८ मा सकिने भन्दै एमसिसीले यतिञ्जेलसम्म एमसिसी नेपालको संसदबाट अनुमोदन नभए मार्चमा बस्ने बोर्ड बैठकले अर्को कदम चाल्ने चेतावनी दिएको छ ।
एमसिसी पारित गर्ने विषयमा माओवादी केन्द्रभित्रै चर्को मतभेद रहेको बेला एमसिसीलाई पठाएको पत्र सार्वजनिक भएपछि अध्यक्ष दाहाल दबाबमा पर्नुभएको छ ।