यशाेदा चोलागाईँ
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको साता दिन बितिसक्यो । तर, आपूmहरु पनि यही देशको नागरिक हुँदा हुँदै पनि जनगणनामा छुटेकोमा तेस्रो लिङ्गी समुदायले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रिय जनगणनामा कतिपय तेस्रो लिङ्गीका नागरिकहरु भने छुटेको देखिएको छ । गत भदौ ३० गतेदेखि असोज १८ सम्म नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत घर तथा सूचीकरण र तथ्याङक सङ्कलन भयो ।
जनगणना अन्तर्गत पहिलो चरणको उक्त तथ्याङक सङकलनका क्रममा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा समाचारको शीर्षक बन्यो लैङ्गिक पहिचान किटान गर्न दिइएको विकल्प “अन्य” ।
जनगणनाको दोस्रो चरण कात्तिक २५ बाट शुरु भएको थियो । मङसिर ९ सम्म चलेको यस चरणमा मूख्य गणकहरुले घरघरमा पुगेर हरेक परिवारको विस्तृत विवरण सङ्कलन गरेका थिए । यस चरणमा भरिने मूख्य प्रश्नावलीमा भने लैङ्गिक विवरणको खण्डमा उत्तरको तीन वटा विकल्प थिए “महिला, पुरुष र अन्य” । केन्द्रीय तथ्याङ्क विभागले हाल सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्मा महिला र पुरुषको सङख्या उल्लेख गरिएको थियो । तर अन्यहरुको सङ्ख्या भने विभागले अहिलेसम्म पनि सार्वजनिक गर्न सकेको छैन । यो विभागको कमजोरी हो या लापरवाही ? आफूलाई पनि यही समाजको हिस्सा ठान्ने तेस्रो लिङ्गी समुदायहरुले आफ्नो समाजको सङख्या यतिन्जेलसम्म पनि सार्वजनिक नगर्दा निलहिरा समाजका सदस्यहरुले गुनासो पोखेका छन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुको सङ्ख्या कति छ ? भन्ने तथ्याङ्क सङ्कलनका लागि सुचीकरणको महत्वपूर्ण भूमिका हुन्छ । पूर्ण पहिचानसहितको गणना नहुनुलाई लैङ्गिक अल्पसङ्ख्यकहरु राज्यको प्राथमिकतामा पर्न सकेका छैनन् भनेर पनि बुझ्न सकिन्छ । सामाजिक संरचनाका कारण केही मानिसलाई आफ्नो लैङ्गिक पहिचानबारे खुल्न गाह्रो हुने कुरामा निलहिरा समाजका सदस्यहरुले सहमति जनाएका छन् ।
राष्ट्रिय जनगणनामा अन्य भनेर समावेश गरिए पनि अप्ठयारो या त लाज मान्ने प्रवृतिले कति गणकहरुले प्रश्न नै नसोधेको गुनासो पटक पटक सुनिएको छ । आफू यो हो भनेर बुझाउन पहिले जतिको अप्ठयारो नभएको भन्दै यो परिवर्तनलाई सकारात्मक नै मान्नु पर्ने विचार पनि व्यक्त भएका छन् ।
तथ्याङ्क नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य र रोजगारको अवसरमा यस्ता समुदायहरु समेटिदैनन् । राजनीतिक, सामाजिक, शैक्षिक अधिकार माग्दा समेत तिमीहरुको समुदाय कति छ र ? भनेर सोधिने यस्ता प्रकारका प्रश्नले उनीहरु झन् कमजोर महसुस गर्ने गर्दछन् । तेस्रो लिङ्गिहरुलाई पनि समाजको हिस्सा ठानेर आम नागरिकलाई दिए अनुसारको अधिकार र सम्मान दिनु आजको आवश्यकता हो भनेर राज्य र आम नागरिकले बुझ्नु जरुरी देखिएको छ ।