काठमाडौँ । निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेसँगै आयोग तयारीमा जुटेको हो ।
एक–दुई दिनमा मस्यौदा अन्तिम टुङ्गो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने तयारीमा आयोग रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्य योजना अन्तर्गत निर्वाचन अधिकृत नियुक्ति, कार्यालय स्थापना, तालिम, उम्मेदवारी दर्ता, नाम फिर्ता, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्न वितरण, प्रचारप्रसार, मत गणना लगायतका कार्य समेटिने उहाँले जानकारी दिनुभयो ।
यस्तै स्थानीय तह निर्वाचन निर्देशिका निर्माण पनि अन्तिम चरणमा रहेको उहाँको भनाई छ । केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । पौडेलका अनुसार वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने आन्तरिक कार्ययोजना बनाइएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने आयोगको तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुने उहाँले बताउनुभयो ।
आयोगले मतदाताको अद्यावधिक विवरण पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ ।
निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराउने व्यवस्था छ । त्यसैअनुसार आयोगले संघीय मामिला मन्त्रालयमार्फत पत्राचार समेत गरिसकेको छ । यस्तै सरकारले सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी तयारी गरेको छ ।