काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रीत तयारी शुरु गर्ने भएको छ ।
शुक्रवार सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ शुरु गर्ने एमालेको तयारी छ ।
उक्त कार्यक्रमको अध्यक्ष केपी शर्माओलीले भर्चुअल माध्यमबाट शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने उक्त कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।
एमालेले सार्वजनिक गरेको दुई दिने प्रशिक्षण तालिका अनुसार प्रदेश नम्बर १ मा फागुन १ र २, विराटनगर हुनेछ भने मधेस प्रदेशमा फागुन ३ र ४, जनकपुर तथा वागमती प्रदेशमा फागुन ६ र ७ गते काठमाडौंमा हुनेछ ।
त्यसैगरी गण्डकी प्रदेशको प्रशिक्षण फागुन ८ र ९ पोखरा, लुम्बिनी प्रदेशको फागुन ११ र १२, बुटवलरदाङ, कर्णाली प्रदेशको फागुन १४–१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशको फागुन १६–१७, धनगढीमा हुनेछ ।